अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

‘गाजा युद्धविराम सम्झौता नजिक’- हमास

बिआरटीनेपाल २०८० मंसिर ५ गते ६:४९ मा प्रकाशित

हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलवार बताउनुभएको छ । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकु समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ । ‘हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ’, एएफपीलाई आफ्नो कार्यालयले पठाएको एक विज्ञप्तिमा हानियेहले भन्नुभयो । गाजामा युद्ध शुरु भएको धेरै हप्तादेखि वार्ताकारहरूले प्यालेस्टिनी लडाकुहरूले राखेका झन्डै दुई सय ४० बन्धकमध्ये केहीलाई मुक्त गर्नका लागि एउटा सम्झौतामा पुग्ने प्रयास गरेका छन् ।

गएको महिना हमासको कठोर हमलाका क्रममा बन्धक बनाइएका धेरैजसो इजराइली छन् । तिनीहरूमा पनि केही बालबालिका र वृद्धवृद्धा छन् । बन्धक बनाइएकामध्ये केहीलाई मात्र रिहा गरिएको छ । केहीलाई इजराइली स्थल सैनिकले मुक्त गरेका छन् भने केहीको शव बरामद गरिएको छ । बाँकीको सटिक ठेगाना थाहा छैन । यद्यपि हमासले गरेको सबैभन्दा घातक हमलाको जवाफमा इजराइलले लगातार बमबारी र स्थल कारबाही शुरु गरेको गाजामा बन्धकहरू रहेको मानिएको छ ।

हमासले अक्टोबर ७ मा आफ्नो डरलाग्दो हमलाका क्रममा झन्डै एक हजार दुई सय मानिसलाई मारेको थियो । मारिनेमा धेरैजसो सर्वसाधारण थिए । हमासका अनुसार इजराइली हमलामा गाजामा १३ हजार तीन सयभन्दा बढी मानिस मारिएका छन् र तिनीहरूमा हजारौँ बालबालिका रहेका छन् ।नाम नछाप्ने शर्तमा एएफपीसँग कुरा गर्दै हमास र इस्लामिक जिहादको स्रोतले उनीहरूको आन्दोलन युद्धविराम सम्झौताको सर्तमा सहमत भएको बताएको छ । इस्लामिक जिहाद अर्को छुट्टै प्यालेस्टिनी लडाकु समूह हो जसले अक्टोबर ७ को हमलामा पनि भाग लिएको थियो ।

अस्थायी सम्झौतामा पाँच दिने युद्धविराम समावेश छ । यसमा जमिनमा युद्धविराम र दक्षिणी गाजामा इजराइली हवाई सञ्चालनको सीमा समावेश छ । बदलामा प्यालिस्टिनी लडाकु समूहले पक्रिएका ५० देखि एक सय जना मानिसलाई रिहा गरिनेछ । तीमध्ये इजराइली र अन्य देशका मानिसलाई रिहा गरिने भए पनि कुनै पनि सैन्यकर्मीलाई रिहा गरिने छैन ।

प्रस्तावित सम्झौताअन्तर्गत महिला र बालबालिकासहित झन्डै तीन सय प्यालेस्टिनीलाई पनि इजराइली जेलहरूबाट रिहा गरिने छ । सोमवार अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूलाई रिहा गर्ने सम्झौता नजिक पुगेको आफूलाई लागेको बताउनुभएको थियो । उहाँका अनुसार कतारको मध्यस्थतामा वार्ताको आशा बढेको छ । कतारमा हमासको एउटा राजनीतिक कार्यालय छ भने इजराइलको पनि कतारसँग पर्दापछाडि कुटनीतिक सम्बन्ध छ ।  त्यस्तै रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सोमवार आफ्ना अध्यक्षले इजराइल र गाजामा सशस्त्र सङ्घर्षसँग सम्बन्धित मानवीय मुद्दाहरूलाई अगाडि बढाउनका लागि हमासका नेता हानियेहसँग भेट्न कतारको भ्रमण गरेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू