अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

अर्जेन्टिनाका राष्ट्रपतिमा जाभियर मिलेई निर्वाचित

बिआरटीनेपाल २०८० मंसिर ५ गते ६:४० मा प्रकाशित

अर्जेन्टिनाका राष्ट्रपतिमा जाभियर मिलेई निर्वाचित हुनुभएको छ । आइतबार भएको मतदानबाट चरम दक्षिणपन्थी नेता मिलेई अर्जेन्टिनाका राष्ट्रपति चयन हुनुभएको हो । समाचार संस्था रोयटर्सका अनुसार मिलेईले ५६ प्रतिशत मत पाउँदा उहाँका प्रतिद्वन्द्वी वामपन्थी नेता सर्जिओ मास्साले ४४ प्रतिशत मत पाउनुभयो।

अर्जेन्टिनामा बढ्दो आर्थिक संकटकाबीच मिलेई राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँ माथि १४० प्रतिशतसम्म पुगेको मुद्रास्फिती नियन्त्रणमा ल्याउनेदेखि खराब बन्दै गएको अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी आएको छ। द न्युयोर्क टाइम्सका अनुसार मिलेईले मुद्रास्फिती नियन्त्रण गर्नेदेखि अर्थतन्त्र सुधारका विभिन्न योजनालाई आफ्नो चुनावी एजेन्डा बनाउनुभएको थियो ।

मिलेईको विजयीलाई अर्जेन्टिनामा अर्को डोनाल्ड ट्रम्पको जन्म भएको विश्लेषण गर्न थालिएको छ। ट्रम्पले पनि राष्ट्रपति निर्वाचित भएका मिलेईलाई बधाइ दिनुभएको छ । राष्ट्रपति निर्वाचित भएपछि मिलेईले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र भएकोमध्येमा पर्ने अर्जेन्टिनाको अवस्था सुधार्न ठूलो मेहनत गर्नुपर्ने बताउनुभएको छ । ‘देशको अवस्था नाजुक छ, हामीले यसलाई सुधार गर्न द्रूत गतिमा काम गर्न जरूरी छ,’ उहाँले भन्नुभएको छ ।

मिलेईले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि तत्काल गर्न सकिने कुराहरूसमेत बताउनुभएको छ। न्युयोर्क टाइम्सका अनुसार उहाँले धराशायी भएका सरकारी कम्पनीहरूलाई निजीकरण गर्ने, १८ सदस्यीय मन्त्रिमण्डल ८ सदस्यीय बनाउने लगायतका योजना अघि सार्नुभएको छ । अर्थशास्त्रीसमेत रहेका मिलेईले अर्थतन्त्रसम्बन्धी विभिन्न पुस्तकहरूसमेत लेख्नुभएको छ । मिलेईले आगामी डिसेम्बर १० मा शपथ लिनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू