अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

गाजामा मानवीय सङ्कट रोक्न विश्वले ‘तुरुन्त कदम चाल्नुपर्छ’ : चिनियाँ विदेशमन्त्री वाङ यी

बिआरटीनेपाल २०८० मंसिर ४ गते ६:२२ मा प्रकाशित

चिनियाँ विदेशमन्त्री वाङ यीले सोमवार अरब तथा मुस्लिम बहुल राष्ट्रका कुटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ ।‘गाजाको स्थितिलाई चाँडै शान्त पार्न र मध्यपूर्वमा चाँडोभन्दा चाँडो शान्ति पुनःस्थापना गर्न मिलेर काम गरौँ’, बेइजिङमा प्यालेस्टिनी प्राधिकरण, इन्डोनेसिया, इजिप्ट, साउदी अरब र जोर्डनका विदेशमन्त्रीहरूलाई उहाँले भन्नुभयो, ‘गाजामा मानवीय विपत्ति देखापरेको छ, त्यहाँको अवस्थाले विश्वका सबै देशलाई असर गर्छ, यसले मानवीय भावनाको सही र गलत तथा मानवताको तल्लो अवस्थामाथि प्रश्न उठाउँछ, विश्व समुदायले यो त्रासदीलाई बढ्नबाट रोक्न प्रभावकारी उपायमार्फत तत्काल कदम चल्नुपर्छ ।’

हमासले अक्टोबर ७ मा हमला गरेपछि इजराइलले गाजाको शासक हमासलाई नष्ट गर्ने वाचा गरेको छ । इजराइलमाथि हमासले गरेको अहिलेसम्मको सबैभन्दा भयानक हमलामा एक हजार दुई सय सर्वसाधारण मारिएका थिए । त्यस्तै हमासले दुई सय ४० जनालाई बन्धक बनाएको छ । इजराइलको लगातारको हवाई हमला र स्थल कारबाहीमा कम्तीमा १३ हजार जना मारिएका गाजामा रहेको हमास सरकारले बताएको छ । दुवै पक्षका मारिनेमा धेरैजसो सर्वसाधारण छन् ।

चीनले आइतवार राति विदेशमन्त्रीहरूको प्रतिनिधिमण्डलको घोषणा गरेको थियो जसमा इस्लामिक सहयोग सङ्गठनका महासचिव पनि संलग्न छन् । बेइजिङले अहिलेको प्यालेस्टिनी–इजराइल सङ्घर्षको न्यूनीकरणलाई प्रवर्द्धन गर्ने, सर्वसाधारणको सुरक्षा गर्ने र प्यालेस्टिनी मुद्दाको न्यायोचित समाधान गर्ने वार्ताको लक्ष्य रहेको बताएको छ । ‘अरब र मुस्लिम देशहरूको चीन असल मित्र र भाइ हो’, विदेशमन्त्री वाङले भन्नुभयो, ‘हामीले सधैँ अरब र मुस्लिम देशहरूको वैध अधिकार र हितको दृढताका साथ रक्षा गरेका छौँ, साथै प्यालेस्टिनीको वैध राष्ट्रिय अधिकार र हित पुनःस्थापित गर्ने प्रयासलाई सधैँ दृढताका साथ समर्थन गरेका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू