अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 18:30

चीन भ्रमण आशा गरेभन्दा धेरै सफल: प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० असोज १० गते ७:३३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताउनुभएको छ । तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको बताउनुभयो। प्रधानमन्त्रीले भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताउनुभयो ।

राष्ट्रपति सी चिनफिङसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पुष्टि भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । भ्रमणका क्रममा नेपाल र चीनबीच विगतमा बन्द भएका सबै नाका संचालन गर्ने, परम्परादेखि पासका रूपमा चल्दै आएका साना(साना नाकाहरू पनि सबै संचालन गर्ने सहमति भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र चीन बीच सबै नाकाहरू खुलेपछि व्यापार व्यवसायका क्षेत्रमा नयाँ फड्को मार्ने बताउनुभयो। अघिल्लो पटक ल्हासा भ्रमण गर्दा नेपाली महावाणिज्य दूतावासको भवन पुरानो रहेकोमा अहिले नयाँ भवन बनेको देखेर खुसी लागेको भन्दै नयाँ भवनको उपयोग गर्दै नयाँ उत्साहका साथ काम गर्न उहाँले सबै कर्मचारीलाई निर्देशन दिनुभयो। कार्यक्रममा ल्हासाका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालले नेपाल चीन सम्बन्धमा ल्हासाको भूमिका र महत्व, महावाणिज्य दूतावासले गरिरहेको काम तथा अब गर्नुपर्ने महत्वपूर्ण कामहरू र भोगिरहेको समस्या लगायतका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू