अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३० | Colorodo: 10:45

नेपाली भाषा पाठशाला, कोलोराडोको दीक्षान्त समारोह सम्पन्न

बिआरटीनेपाल २०८० असोज ७ गते २२:१४ मा प्रकाशित

कोलोराडोको दुई शहरहरू नर्थग्लेन र अरोरामा संचालन गरिएको गृष्मकालीन नेपाली भाषा पाठशालाका कक्षाहरू यही सेप्टेम्बर २३ तारिखको दिन दीक्षान्त क्षान्त समारोहहरू आयोजना गरी सकिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखा र स्थानीय संस्था/ समूहको संलग्नतामा संचालन गरिएको उक्त कक्षाहरू करिब ४ महिना संचालन गरिएको थियो । पाठशालाको नर्थग्लेन स्कुलमा र अरोरा स्कुलमा गरी १२० भन्दा बढी विद्यार्थीहरू भर्ना भएका थिए ।

दिक्षान्त समारोहको क्रममा विद्यार्थीहरूले नेपालको राष्ट्र गानको गायन, नेपालीमा आफ्नो परिचय दिने, कविता वाचन, सामूहिक नेपाली गीतको गायन जस्ता विभिन्न प्रस्तुतिहरू गरेका थिए । दुवै स्कुलमा विद्यार्थीहरूलाई उमेर र अनुभवको आधारमा तीन तीन वटा कक्षामा विभाजित गरेर पढाइएको थियो । दिक्षान्त समारोहमा सम्बन्धित कक्षाका गुरुबा गुरुआमाहरूले आफ्नो विद्यार्थीहरूलाई प्रमाणपत्र बाँड्नुभएको थियो । कार्यक्रममा गुरुबा, गुरुआमाहरू र पाठशालामा सहयोग गर्ने स्वयंसेवकहरूलाई पनि सम्मानपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो । यसै गरी अरोरा स्कुल सुरु गर्ने संस्थापकहरू अनेसास बिओटी सभापति पदम विश्वकर्मा, समाजसेवी राजेन्द्र सिग्देल, नेपाली घरका पूर्व अध्यक्ष योगराज गौतम, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष अर्जुन बगाले तथा पत्रकार शैलेश पोखरेललाई सम्मान स्वरूप सम्मानपत्र प्रदान गरिएको थियो । नर्थग्लेन स्कुलमा गुरु/ गुरुआमाहरू हरिभक्त आचार्य, धन पौडेल र सीता सापकोटाले साथै अभिभावकको प्रतिनिधित्व गर्दै रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका उपाध्यक्ष विकास त्रिपाठीले आफ्नो विचारहरू राख्नुभएको थियो ।

कार्यक्रममा अनेसास केन्द्रीय सदस्य तारा अधिकारी तथा अनेसास ट्रस्टी सदस्य डा. विजयराज शर्माले प्रमाणपत्रहरू वितरण गर्नुभएको थियो । अरोरा स्कुलमा गुरुआमाहरू पूजा आले र सबिता श्रेष्ठ साथै अनेसास कोलोराडो शाखा महासचिव किरण अधिकारी, अनेसास बिओटी सभापति पदम विश्वकर्मा र पाठशाला संस्थापक राजेन्द्र सिग्देलले आफ्नो विचारहरू राख्नुभएको थियो । साहित्यकार पुष्पराज पौडेलले सम्मान पत्रहरू हस्तान्तरण गर्नुभएको थियो । अरोरा स्कुलको दिक्षान्त कार्यक्रमको संचालन अरोरा पाठशाला संयोजक राजु खनालले गर्नुभएको थियो भने नर्थग्लेन स्कुलको कार्यक्रम संचालन अनेसास, कोलोराडो शाखा सचिव लाल चौलागाईंले गर्नुभएको थियो । यस कार्यक्रमको व्यवस्थापन गर्नमा अनेसास कोलोराडो च्याप्टरनर्थग्लेन स्कुलको व्यवस्थापन अनेसास कोलोराडो शाखा सचिव लाल चौलागाईं तथा कोषाध्यक्ष सेनुप्रसाद तिवारीले गर्नुभएको थियो भने अरोरा स्कुलको व्यवस्थापन अनेसास कोलोराडो शाखा महासचिव किरण अधिकारी, सदस्य रामराज पौडेल तथा स्थानीय राजु खनालले गर्नुभएको थियो ।

अनेसास, कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले पाठशालालाई आगामी दिनहरूमा सुधार र विस्तार गर्नको लागि थुप्रै योजना र कार्यक्रमहरू पाइपलाइनमा रहेको जानकारी गराउँदै भाषा संचालनको सहयोगार्थ नोभेम्बर ११ तारिखमा कोलोराडोका स्थानीय संस्था/ समूहहरू एनआरएनए कोलोराडो च्याप्टर, सिस्टर ग्रुप अफ कोलोराडो, कोसेली कोलोराडो र टुकी इभेन्टससँग मिलेर लोकप्रिय सङ्गीतकार/ गायिका कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशीको कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया