अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४९ | Colorodo: 13:04

कोलोराडोमा इन्द्र जात्रा हुँदै

बिआरटीनेपाल २०८० असोज ७ गते २१:५९ मा प्रकाशित

कोलोराडो नेवा: खलःको आयोजनामा प्रत्येक वर्षझैँ येंयाः अर्थात् इन्द्र जात्रा अक्टोबर १ तारिख आइतबारका दिन मनाइने भएको छ ।

कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न नेवा: मयजुहरूको समूह मिसा कवले स्वयंसेवक/स्वयंसेविकाहरूको संयोजन गर्नेछन् ।

विगत १ दशकदेखि मनाउँदै आएको येंयाःलाई भव्य रूपमा सम्पन्न गर्न खलःका महासचिव सञ्जय शाक्यको संयोजकत्वमा समेबजि तयारी समूह, खलःका सांस्कृतिक सचिव सुरेन्द्र महर्जनको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम तय गरिएको छ ।

स्टल व्यवस्थापनमा अनिल बज्राचार्य, समेबजि वितरणमा भुवन कृष्ण श्रेष्ठले संयोजन गर्नेछन् भने स्वागत गेटलाई सुरेश श्रेष्ठ र अजर श्रेष्ठले तयार गरेका छन् । कुमारीको खट रमेश सैंजु तथा गणेश, भैरव र कुमारीको साजसज्जा तथा छत्रको तयारी मनोज/रमिता तुलाधरले गरेका छन् ।

४ दर्जन व्यक्ति तथा व्यापारिक संस्थाहरूको प्रायोजन तथा ५ दर्जन मयजुहरूले समेबजिको प्रबन्ध गरेको कोलोराडो नेवा: खलःका अध्यक्ष भूषण लाल श्रेष्ठले बताएका छन् ।

नेपाली घरको प्राङ्गनमा समेबजिको सजावटको जिम्मा सुरेन्द्र महर्जनको समूहले लिएको छ भने १०x३० फिटका ५ वटा टेन्ट र स्टलहरू रहनेछन् । अनलाइन रजिष्ट्रेशन २५० को संख्या पूरा भइसकेको छ भने जात्रा हेर्न आउने करिब ५ सय सबैलाई स्वागत गरिने खलःका सचिव नारायण प्रसाद दुवालले जानकारी गराएका छन् ।

धिमे बाजा, धिमे नाच, मजिपा लाखे नाच इन्द्र जात्रामा मनोरञ्जन प्रदान गर्नेछन् भने तलेजु भवानीको प्रतीक, जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्न सकिनेछ । निःशुल्क प्रवेश, हाथु हायेके र स्वादिष्ट समेबजि जात्रालुलाई पस्किइनेछ ।

प्रतिक्रिया