प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघको मुख्यालय अमेरिकाको न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा सम्बोधन गर्नुभएको छ ।सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले गरेका प्रतिवद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्ुभएको छ । प्रधानमन्त्रीले कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी संकटले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्नुभयो ।
सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरुमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको भन्दै उहाँले पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षाको लगानीमा ठूलो धक्का लागेको तथा बाह्य ऋणले जोखिम बढाएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले दोहा कार्ययोजना, जसप्रति अन्तर्राष्ट्रिय समुदायको समर्थन र प्रतिबद्धतालाई स्वीकार गर्न आग्रह गर्नुभएको छ । उहाँले दिगो विकास लक्ष्य हासिल गर्न थप लगानी, संरचनात्मक रूपान्तरणका लागि समर्थन र कोभिड महामारीबाट द्रुत र दिगो रिकभरी हासिल गर्न आवश्यकता औल्याउनुभयो । राष्ट्रसंघको ७८ महासभामा सहभागी हुन प्रधानमन्त्री अहिले अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ ।