अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

जापानमा ८० वर्षमाथिका व्यक्तिको सङ्ख्या कुल जनसङ्ख्याको १० प्रतिशत, ९० लाखभन्दा बढी वृद्धवृद्धा काम गर्दै

बिआरटीनेपाल २०८० असोज १ गते ६:३५ मा प्रकाशित

जापानमा ८० वर्ष वा त्योभन्दा बढी उमेर काटेका व्यक्तिको सङ्ख्या कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा धेरै पुगेको छ । जापानले आज साेमवार मनाइरहेको ‘रेस्पेक्ट फर एज्ड डे’ का अवसरमा सार्वजनिक नयाँ तथ्याङ्कअनुसार हरेक १० जना मानिसमध्ये एक जना ८० वर्ष भन्दामाथिको उमेर समूहका रहेका देखाएको एएफपीले जनाएको छ ।

यस्तै जापानको ६५ वर्ष वा त्योभन्दा बढी उमेरको जनसङ्ख्याको हिस्सा बढेर २९ दशमलव १ प्रतिशत पुगेको छ । जापानमा विश्वमा सबैभन्दा बढी वृद्धवृद्धा रहेका त्यहाँको आन्तरिक मामिला मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । अस्थिर रोजगारी र आर्थिक कठिनाइका कारण युवाहरूले विवाह र बच्चा जन्माउन ढिलाइ गरिरहेका कारण दशकौँदेखि जापानको जनसङ्ख्या घट्दै गएको छ । पहिलेको जनशक्ति वृद्ध हुँदै गएकोले वृद्ध उमेरको जनसङ्ख्या बढेको हो ।

जापानमा ९० लाखभन्दा बढी वृद्धवृद्धाले काम गरिरहेका छन् । जुन श्रमशक्तिको १३ दशलमव ६ प्रतिशत वा सातमध्ये एक जना कामदार हुन् । जापानमा ७० देखि ७४ वर्ष उमेर समूहका एक तिहाइभन्दा बढी मानिसले रोजगारी पाएका छन् । सन् २०४० सम्ममा जापानको कुल जनसङ्ख्याको झन्डै ३५ प्रतिशत वृद्धवृद्धा रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू