अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

अमेरिका-नेपाल कूटनीतिक सम्बन्धको ७५ वर्षे महोत्सव सेप्टेम्बर १-२ मा हुँदै

बिआरटीनेपाल २०८० भदौ ९ गते ११:१५ मा प्रकाशित

कोलोराडो । कोलोराडो राज्यका स्थानीय नेपाली सामुदायिक संस्थाहरूले संयुक्त रूपमा सेप्टेम्बर १ र २, २०२३ का दिन बोल्डर काउन्टी फेयरग्राउन्डसमा अमेरिका-नेपाल कूटनीतिक सम्बन्धको ७५ वर्षे महोत्सवको आयोजना गरेका छन् ।

पहिलो दिन दिउँसो २ देखि ६ बजेसम्म कोलोराडो राज्यका उच्चपदस्थ नेताहरू र अमेरिकाका लागि नेपालको राजदूत महामहिम प्रोफेसर श्रीधर खत्रीको समुपस्थितमा महोत्सवको उद्घाटन हुनेछ । उक्त अवसरमा परेड, लाखे नाच, गणेश नृत्य, शेर्पा नृत्य र केही अन्य सांस्कृतिक झाँकीहरू पनि प्रदर्शन गरिने छन् ।

दोस्रो दिन बिहान १० देखि अपराह्न ४ बजेसम्म अमेरिका-नेपाल कूटनीतिक सम्बन्ध, अमेरिकी पिसकोर संस्था, अमेरिकामा नेपाली आप्रवासीहरूले भोग्नुपर्ने समस्याहरू र गैर आवासीय नेपाली नागरिकता र दोहरो करको मार विषयहरूमा फोरम छलफलहरू सञ्चालन गरिँदै छ । उपर्युक्त कार्यक्रमहरूमा जोसुकै सहभागिता खुला छ, कुनै रजिस्ट्रेसन शुल्क तिर्नुपर्ने छैन । बेलुकीपख सहभागीहरूको मनोरञ्जनार्थ आयोजित पहिलो दिनको डिजे डान्स र दोस्रो दिनको राजु लामाको एन्जल्स ब्यान्डको कन्सर्टमा प्रवेशका लागि एकमुष्ट ६० डलरको टिकट खरिद गर्नुपर्ने छ ।

यस महोत्सवको अवसरलाई उपयोग गर्दै नेपाली दूतावासले समेत सेप्टेम्बर २ देखि ५ सम्म कन्सुलर सेवा क्याम्प मार्फत भिसा, पासपोर्ट, एन.आर.एन. कार्ड, आदि कन्सुलर सेवा पनि प्रदान गर्दै छ ।

अमेरिका, संयुक्त अधिराज्यपछि, नेपाललाई सार्वभौम सत्ता सम्पन्न राष्ट्रको मान्यता दिने दोस्रो राष्ट्र हो । अमेरिकाले सन् १९५१ देखि नेपाललाई विकास सहायतासमेत प्रदान गर्दै आएको छ । अमेरिकामा बसोबास गर्ने नेपालीका लागि यी दुई राष्ट्रहरूबिचको सम्बन्धले ठुलो महत्त्व राख्दछ । कोलोराडो र अन्य राज्यमा समेत बसेका नेपालीहरूलाई हर्ष र उल्लासका साथ महोत्सवमा सहभागी हुन आयोजकहरूले आह्वान गरेका छन् । दुई दिने कार्यक्रमको सार तल प्रस्तुत छ ।

प्रतिक्रिया