अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

सरकारद्वारा आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा

बिआरटीनेपाल २०८० जेठ १५ गते ७:३२ मा प्रकाशित

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गर्नुभएको हो । सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ ।जसअनुसार आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ । यस्तै, आगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर बढाउने र दोस्रो चरणको आर्थिक सुधारको योजना समेत सरकारले बनाएको छ । अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माणलाई समेत प्राथमिकतामा राख्नुभएको छ । यसैगरी कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट बढाइएको छ ।

घोषित बजेट यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।सरकारले विनियोजित बजेटको स्रोत व्यवस्थापन गर्न आगामी आर्थिक वर्षमा राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलन गर्ने लक्ष्य लिएको छ । वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड स्रोत व्यवस्थापन गर्ने अर्थमन्त्री महतको भनाई छ । यस्तै ४ खर्ब ५२ अर्ब ७५ करोड अपुग हुने स्रोतमध्ये वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब स्रोत परिचालन गर्ने अर्थमन्त्री महतले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू