अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 05:40

नारायण श्रेष्ठको शोक सभा सम्पन्न

बिआरटीनेपाल २०७९ चैत २८ गते ११:४९ मा प्रकाशित

कोलोराडो । नेपाली घरका संस्थापक अध्यक्ष नारायण श्रेष्ठको शोक सभा सम्पन्न भएको छ। श्रेष्ठको गत मार्च २० मा निधन भएको थियो । शोक सभामा एक मिनेट मौन धारण गरिएको थियो । सहभागीहरुली लामबद्ध रूपमा फुल चढाएर श्रद्धाञ्जली प्रकट गरेका थिए । अनेसास कोलोराडो च्याप्टर सचिव दामोदर लुइटेलले श्रेष्ठको सम्झनामा कविता वाचन गरेका थिए भने गुरु चूडाप्रसाद शर्माले काएनाबाचा मन्त्र उच्चारण गरेका थिए ।

एनआरएन कोलोराडो च्याप्टर अध्यक्ष रामचन्द्र पन्त र ब्लड डोनर्सका केन्द्रीय सह-कोषाध्यक्ष श्रीराम लुइटेलले श्रेष्ठको सम्झना गर्दै आफ्नो धारणा राखेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका कोलोराडो च्याप्टर अध्यक्ष राजु सिटौलाले श्रेष्ठसँग करिब १४ वर्ष सँगै काम गरेको स्मरण गरे । सभामा अप्रिल २१, २०२१ मा श्रेष्ठले वाचन गरेको ‘पर्खाल’ शीर्षकको कविता वाचन गरेर सिटौलाले उनलाई सम्झिए ।

शोक सभामा रक्की माउन्टेन अध्यक्ष टिका पौडेलको सबैले सहकार्य गरेर नेपाली घर बनाउने श्रेष्ठको सपना पुरा गर्नुपर्ने आग्रह थियो । पत्रकार नातिबाबु भट्टले १० वर्ष जमरा भट्टको घरबाट लगेको र एक साल जमरा नउम्रिँदा फुलबाटै टिका लगाएको सम्झिए । एनआरएन केन्द्रीय सदस्य राज ढुंगानाले श्रेष्ठको प्रेरणाबाट नेपाली घरको बोर्डमा संलग्न भएको बताए । नेपाली घरका पूर्व अध्यक्ष योगराज गौतमले लामो समय श्रेष्ठसँग सहकार्य गरेको स्मरण गदै भने, ‘तपाई हामी सबै मिलेर नारायण (श्रेष्ठ) दाइको सपना साकार पारौँ, म मृत आत्माको चिर शान्तिको कामना गर्दछु।’

अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष पदम विश्वकर्माले श्रेष्ठको निधन भएको अझ पत्याउन नसकेको बताए । ‘मैले अझै पनि विश्वास गर्न सकिरहेको छैन । अग्रज दाइ हुनुहुन्थ्यो, समुदायको लागि केही गरौँ भन्ने व्यक्ति गुमाउनु पर्दा हामी सबैलाई दुख लागेको छ,’ उनले भने ।

‘विष्णु श्रेष्ठ र नारायण श्रेष्ठ दुवै जना अब यो संसारमा हुनुहुन्न । दुवै जना नेपाली घर बनाउन जोड गर्ने मध्ये हुनुहुन्थ्यो,’ नेपाली घरका सल्लाहकार टिका सिटौलाले भने । सल्लाहकार सिटौलाले सोधेको प्रश्न “परिवारको कोही पनि उत्तराधिकारी नहुनु, किन ?” को उत्तर नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकालले “परिवार अझै शोकमा साथै एक छोरी ज्वाइ कोलोराडो बाहिर हुनाले आउन नसक्नु भएको” भनेर जानकारी दिएका थिए ।

ब्लड डोनर्स अमेरिका केन्द्रीय उपाध्यक्ष भूषण लाल श्रेष्ठ दिवङ्गत श्रेष्ठसँगै कुनै पनि कार्यक्रममा आउने जाने गरेको सम्झना गर्दै भावुक भएका थिए । उनले दिवङ्गत श्रेष्ठको सम्झनामा गीतको हरफ सुनाए ।

मगर सङ्घ कोलोराडो च्याप्टर अध्यक्ष कृष्ण थापा, पूर्व अध्यक्ष लक्ष्मण राना तथा नेपाली घरका संस्थापक सदस्य राजेन्द्र शर्माले शोक सभामा श्रेष्ठलाई सम्झिए । अनेसास कोलोराडो च्याप्टर उपाध्यक्ष विजयदेव अधिकारीले दिवङ्गत श्रेष्ठ सबैको प्यारो भएको अभिव्यक्ति दिए । साथै दिनेश श्रेष्ठले पनि दिवङ्गत श्रेष्ठलाई सम्झिए ।

नेपाली घरको आयोजनामा सम्पन्न कार्यक्रमको सञ्चालन वसन्त लम्सालले दिवङ्गत श्रेष्ठको बारेमा संक्षिप्त जानकारी दिँदै धन्यवाद ज्ञापन गरेका थिए । नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकालले श्रेष्ठलाई सम्झिँदै शोक सभा विसर्जन गरेका थिए ।

प्रतिक्रिया