अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१२ | Colorodo: 05:27

नेपाली गजल गायनमा नौलो प्रयास

बिआरटीनेपाल २०७९ फागुन २० गते ११:१६ मा प्रकाशित

अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजल यात्रा’को अगुवाइमा नेपाली गजल गायनमा नयाँ प्रयोग भएको छ । यौटै गजलमा ८ फरक गजलकारहरूको १-१ शेर समावेश गरेर तयार गरिएको साङ्गीतिक गजल “तिमीलाई हेर्दाहेर्दै” अमेरिकाको समय अनुसार शुक्रवार साँझ ७ बजे (मार्च ३ २०२३) गजल यात्राको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका ८ गजलकारको उक्त संयुक्त गजलमा सङ्गीत र गायन भने गायक तथा सङ्गीतकार केशव पौडेलको र एरेन्ज जुगल डंगोलको छ । गजलकार आनन्द श्रेष्ठको मतला रहेको सो गजलमा पवन लामिछाने, कृष्ण कुसुम, रोहित राना, गोवर्धन पूजा, डिल्लु चम्लागाई, बासुपुष्पा अधिकारी र सतीश त्रिपाठीका शेर समावेश छन् ।

‘हामी सधैँ नयाँ केही गरौँ भनेर लागिरहेका हुन्छौं, त्यही क्रममा यो काम गरिएको हो ।’ गजल यात्राका संस्थापक मध्येका एक गजलकार पवन लामिछानेले भने- ‘कोरोनाको त्रासदीपूर्ण समयमा हामी नजिकका साथीहरू यौटा शेर लेख्दै बाकी शेर थपेर गजल पुरा गर भनेर फेसबुक समूहमा पालैपालो राख्थ्यौँ र यौटा गजल पुरा गर्थ्यौँ । त्यही बिचमा १-१ शेर गजल वाचन गरिएको भिडियो हरू बनाएर अपलोड गर्‍यौँ । पछि सबैको सल्लाहमा यौटा साङ्गीतिक गजल नै तयार गर्ने योजना बन्यो । मलाई लाग्छ नेपाली गजल गायनको इतिहासमा यो बिल्कुलै नयाँ प्रयोग हो । गजलको क्षेत्रमा भइरहेको गुटबन्दी र आरोप प्रत्यारोप चलिरहेको समयमा यस प्रकारको सहकार्यले नेपाली गजल क्षेत्रमा सकारात्मक सन्देश दिनेछ भन्ने आशा गरेका छौँ ।’ 
सार्वजनिक भएको लिरिकल भिडियो ‘एक शेर गायन’ अभियानका संयोजक समेत रहेका गजलकार पवन लामिछानेले तयार गरेका हुन् ।
तिमीलाई हेर्दाहेर्दै रातै बितोस् सहन्छु म
बत्ती पनि घरी बलोस् घरी निभोस् सहन्छु म ।
-आनन्द श्रेष्ठ

फूलै फूलको बगैँचामा बस्ने मेरो चाहा छैन
तिम्रो दिलमा बस्न पाए काँडै बिझोस् सहन्छु म ।
-पवन लामिछाने

सारा संसार भुलिदिएँ,तिम्रो प्रेममा डुबेपछि
दुनियाँले पागलप्रेमी भने भनोस् सहन्छु म।
– कृष्ण कुसुम

तिमीलाई पाउन म त आफैसँग हार्न सक्छु
चाहे आँधी आवोस् चाहे हुरी चलोस् सहन्छु म।
-रोहित राना

आँखा छेउ बस्छु भन्थ्यौ, पूरै मुटु सुम्पेको छु
वचनको त के कुरा भो ! ज्यानै जावोस् सहन्छु म ।
-गोवर्धन पूजा

आफैसँग टाढा हुन्छु तिमीदेखि टाढा हुँदा
नजिक हुँदा दुनियाँले बिर्से बिर्सोस् सहन्छु म
-डिल्लु चम्लागाई

मेरो खुसी भन्नु तिमी, मेरो प्राप्ति मात्रै तिमी
जिन्दगीले तिमी बाहेक सबै खोसोस् सहन्छु म ।
-बासुपुष्पा अधिकारी

नबिथोल आजको रात पूर्ण  हुने तयारमा छु
भोलिदेखि नचिने झैँ गर्नु परोस् सहन्छु म
-सतीश त्रिपाठी

प्रतिक्रिया