अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

दाइ: भाइलाई फकाउँदै

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७९ फागुन २० गते १०:५५ मा प्रकाशित

“गाई गोठमा
कराइरहेका छन्
तिनलाई फुकाएर
चराउन लानु पनि छ !
छिमेकमै भोजको निम्तो छ
त्यो मान्न जानु पनि छ !
भाइ !
तिमी गाई हेर्न जाऊ
म निम्तो मान्न जान्छु !
अथवा
यसो गरे पनि हुन्छ
भाइ !
कि म भोजको निम्तो
मान्न जान्छु
तिमीचाहिँ
गाई हेर्न जाऊ !”

यसरी सोझो भाइलाई फकाउँदै
जसरी पनि
आफू नै भोजभतेरको
पार्टीमा जान रुचाउने
निकै बाठा – यी दाइ
कतै हाम्रा देशका
राजनीतिक दलका
ठूलै नेता त परेनन् ?!

गोरखा, लप्सीबोट; हाल: काठमाडौँ-६, सरस्वतीनगर ।