अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ०.८ प्रतिशत मात्र आर्थिक वृद्धि

बिआरटीनेपाल २०७९ फागुन १५ गते ६:५४ मा प्रकाशित

अर्थतन्त्रमा समस्या देखिँदा आर्थिक वृद्धिदर नै खुम्चिएको छ ।केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरणानुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जम्मा ०.८ प्रतिशतको आर्थिक वृद्धिदर देखिएको छ । विभागले त्रैमासिक रूपमा समेत आर्थिक वृद्धिदरको तथ्यांक सार्वजनिक गर्ने गर्छ ।गत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ३ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो ।

सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हुने लक्ष्य राखेको थियो । त्यसलाई बजेटको मध्यावधि समीक्षाबाट घटाइएको छ ।दातृनिकायले नेपालले चालु आर्थिक वर्षमा ५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेका छन् ।केन्द्रीय तथ्यांक विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि क्षेत्रको वृद्धिदर १.६ देखिएको छ । निर्माण तथा माइनिङ, होलसेल तथा रिटेलको वृद्धिदर ऋणात्मक देखिएको छ । फुड सर्भिसको वृद्धिदर सबैभन्दा बढी ४५ प्रतिशतले बढेको छ ।चालु आर्थिक वर्षको पहिलो त्रैमासदेखि नै आर्थिक क्रियाकलापमा निकै सुस्तता आएको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने ऋणीको संख्याले समेत यसलाई पुष्टि गर्छ ।

नेपाल उद्योग परिसंघले गरेको अध्ययनले पहिलो त्रैमासमा गत वर्षको तुलनामा २८ प्रतिशतले व्यापारको मागमा कमी आएको तथा २५ प्रतिशतले कारोबार घटेको देखिएको थियो ।कारोबार घटेको असर सरकारको राजस्वमा समेत परेको छ । चालु आर्थिक वर्षको गत वर्षको तुलनामा अहिलेसम्म एक खर्ब कम राजस्व उठेको छ । सरकारले लिएको राजस्वको लक्ष्य पूरा नभए पनि गत वर्षको तुलनामा राजस्व सधैँ बढ्ने गरेको थियो । योपटक भने राजस्व गत वर्षको तुलनामा घटेको हो । ५५ वर्षपछि राजस्व गत वर्षको तुलनामा घटेको छ । अर्थतन्त्रको ‘भ्यालु एड’ बढाउने निर्माण क्षेत्रको नै वृद्धिदर यो वर्ष घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू