अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३७ | Colorodo: 01:52

युक्रेन र पश्चिमा देशहरूले युद्ध सुरु गरे : रुसी राष्ट्रपति पुटिन

बिआरटीनेपाल २०७९ फागुन ९ गते ६:१३ मा प्रकाशित

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा एक वर्षदेखि चलिरहेको युद्धका लागि पश्चिमा देशहरूलाई दोष दिनुभएको छ । रुसको संसदमा सम्बोधन गर्दै उहाँले युक्रेनलाई पश्चिमा देशहरूले रुस विरोधी बनाउने प्रयास गरेको बताउँदै आफ्नो देशको अस्तित्व खतरामा रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।पुटिनले झन्डै दुई वर्षमा देशका नाममा सम्बोधन गर्नुभएको हो । युद्धका कारण उहाँको सम्बोधन पटक–पटक पछि सारिँदै आएको थियो । पुटिनले युक्रेनको पूर्वी भेगमा रहेको डोनबास क्षेत्रको द्वन्द्व शान्तिपूर्णरूपमा समाधान गर्न खोजेको दाबी गर्नुभएको छ । झन्डै दुई घन्टा लामो सम्बोधनका क्रममा पुटिनले आफूहरूले युक्रेनका नागरिकविरुद्ध युद्ध नगरेको दाबी पनि गर्नुभयो ।

यसैबीच अमेरिका र रुसबीचको ‘न्यु स्टार्ट’ भनिने अस्त्र घटाउने सम्बन्धी एक रणनीतिक सन्धिबाट आफ्नो सहभागिता रद्द गर्ने पुटिनले घोषणा गर्नुभएको छ । अमेरिकाले पारमाणविक अस्त्र परीक्षण गरे रुस पनि त्यस्तो गर्न तयार रहनुपर्ने उहाँले बताउनुभयो । ‘न्यु स्टार्ट’ रुस र अमेरिकाबीचको बाँकी रहेको अन्तिममध्येको पारमाणविक हतियारसम्बन्धी सम्झौता हो । सन् २०२१ मा यस सन्धिको समयसीमा पाँच वर्षका लागि थप गरिएको थियो । सन् २०१० मा हस्ताक्षर गरिएको उक्त सन्धिले दुवै पक्षलाई एक हजार ५५० वटा लामो दूरीमा प्रहार गर्ने पारमाणविक युद्धशीर्षमा सीमित गरिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू