अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१९ | Colorodo: 17:34

कम्बोडियाको एङ्कोरबाट चोरिएका प्राचीन राजमुकुट र आभूषण बेलायतमा भेटियो

बिआरटीनेपाल २०७९ फागुन ९ गते ५:४९ मा प्रकाशित

कम्बोडियाको एङ्कोरबाट चोरिएका प्राचीन राजमुकुट र आभूषण बेलायतमा फेला परेका छन् । तीमध्ये केही सातौँ शताब्दीका रहेको खुलेको छ। ती सामग्रीहरू पुरातात्त्विक वस्तुको तस्करी गर्ने बेलायतको डग्लस ल्याच्फर्डको स्वामित्वमा रहेका थिए ।फेला परेका आभूषणहरूको सङ्ग्रह गोप्य रूपमा कम्बोडियाको राजधानी फिर्ता पठाइएको बीबीसीले जनाएको छ । अब ती पुरातात्त्विक वस्तुहरू कम्बोडियाको राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शनीमा राखिनेछ । अमेरिकामा मुद्दाको सुनुवाइको पालो कुर्दाकुर्दै ल्याच्फर्डको सन् २०२० मा ज्यान गएको थियो । उनको परिवारले कम्बोडियाबाट चोरिएका ती वस्तुहरू फिर्ता गर्ने वचन दिएको थियो ।

कम्बोडियाको अनुसन्धान टोलीका प्रमुख ब्रायड गोर्डनले गएको वर्ष बेलायतको भ्रमण गर्दा पहिलो पटक ती प्राचीन आभूषणहरू देखेको बताउनुभएको छ। राजमुकुट र रत्नजडित ७७ वटा विभिन्न आभूषण फेला परेका उहाँको भनाइ छ । ती आभूषणहरू कसरी र कहिले हराएका थिए तथा कसरी बेलायत पुगे भन्ने बारेमा स्पष्ट छैन।कम्बोडिया फ्रान्सको उपनिवेश हुँदा एङ्कोरमा ठूलो लुटपाट भएको थियो । कम्बोडियाका अधिकारीले एङ्कोरबाट हराएका अझ धेरै आभूषणहरू फेला पर्न बाँकी नै रहेको बताउँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू