अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

‘ए डिभिजन लिग’का लागि विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

बिआरटीनेपाल २०७९ माघ २६ गते ६:५२ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लवहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो । ए डिभिजनका अधिकांश क्लवले आफूहरुलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए । खेलाडी थप गर्ने माग लगायत शहीद स्मारक ए डिभिजन लिग सञ्चालन सम्बन्धमा बुधबार बसेको बैठकले खेलाडी कोटा बढाउने निर्णय गरेको एन्फाका प्रवक्ता सुरेश साहले बताउनुभयो ।

उहाँले अनुभवी खेलाडी पाउन मुस्किल भएको भन्दै क्लवहरुले कोटा थप्न माग गरेअनुसार अब क्लवले ५ जना विदेशी खेलाडी टिममा समावेश गर्न पाउने बताउनुभयो । उहाँले टिममा एक जना एशियाली र एक जना दक्षिण एशियाका खेलाडी अनिवार्य गरिएको पनि बताउनुभयो । उहाँले एक खेलमा ४ विदेशी खेलाडीहरु खेल्न पाउने प्रावधान ल्याएको बताउनुभयो ।

राष्ट्रिय टिमका अधिकांश खेलाडी विदेश गएको र बजारमा समेत राम्रा खेलाडी पाउन नसकिएको भन्दै क्लवहरुले सामुहिक रुपमा विदेशी खेलाडीको कोटा बढाउन ए डिभिजनका ११ वटा क्लबले आफ्नो माग सहितको पत्र लिग निर्देशक सञ्जीव मिश्रलाई बुझाएका थिए । पछिल्लो समय राष्ट्रिय फुटबल टिमका अधिकांश खेलाडी अष्ट्रेलिया पुगेका छन् । तीन महिनामा डबल लिग सञ्चालन हुँदा खेलाडीको चोटको समस्या समेत बढ्ने क्लबको चिन्ता छ । सोही कारण विदेशी खेलाडीको कोटा थप गर्दा टिमको तयारी सहज हुने भन्दै क्लवहरुले विदेशी खेलाडीको कोटा बढाउन माग गरेका थिए ।

शहीद स्मारक ए डिभिजन लिगमा यसअघि हरेक क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । विदेशी खेलाडीको कोटा थप भएसँगै शुरुवाती–११ मा ४ जना विदेशी खेलाडी राख्न पाइने छ । एक जना विदेशी खेलाडी भने बेन्चमा रहने छन् । नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदै छ । लिग डबल राउण्ड रोबिनको आधारमा हुने छ । लिगका लागि पाँचौं चरण सम्मको तालिका पनि सार्वजनिक भइसकेको छ । सार्वजनिक तालिका अनुसार उद्घाटन खेल खुमलटार युथ क्लब र फ्रेण्ड्स क्लवबीच हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू