अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

नेपाली किशोरीलाई ’बलि’ चढाउन भारत लगेको आशङ्कामा ६ जना पक्राउ

बिआरटीनेपाल २०७९ माघ २० गते ६:४१ मा प्रकाशित

मानव बेचबिखन अनुसन्धान ब्युरोले बलि दिन नेपालबाट भारत पुर्याइएको आशङ्कामा एक १६ वर्षीया किशोरीको उद्धार गरेको छ । ब्युरोको पहलमा भारतको दिल्लीमा रहेको मङ्गलबजार गल्लीबाट यही मङ्गलवार किशोरीको उद्धार गरिएको हो । उद्धारपछि किशोरीलाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।

ब्युरोले यहाँ आज पत्रकार सम्मेलन गरी किशोरीको उद्धारबारे जानकारी दिएको हो ।’किशोरीलाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ । भारत लैजानुअघि उनको को तौल, उचाइ, शरीरमा दाग, ट्याटु र रजस्वला भए÷नभएको परीक्षण गरिएको रहेछ’, ब्युरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार उनलाई भारत लैजानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो । ६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा ट्याटु नभएको, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको किशोरीको खोजी हुने क्रममा उनलाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ ।

उहाँले थप्नुभयो,’प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले उनलाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरुको आउँदो पूर्णिमामा उनको बलि चढाउने योजना रहेछ।’

निर्देशक श्रेष्ठले किशोरी भने यसबारे जानकार नभएको बताउनुभयो । उहाँले भन्नुभयो,’हामी दुई महिनादेखि किशोरीको खोजी अनुसन्धानमा जुटेका थियौँ । दुई दिनअघि पाएको सूचनाका आधारमा किशोरीको उद्धार गरिएको हो ।’पीडित किशोरी मङ्सिर १७ गते मामाघरबाट काठमाण्डौ ल्याइएको थियो । पुस १९ गतेसम्म काठमाण्डौमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते उनलाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीमा रहेको पाहाडगञ्जमा पु¥याइएको प्रहरीको भनाइ छ ।

भारत पु¥याएपछि भारतका विभिन्न तीन ठाउँमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा उनलाई लगिएको प्रहरीको भनाइ छ । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण उनी मामाघरमा बस्दै आएकी थिइन् । ती किशोरीलाई प्रलोभन देखाउनेमा किशोरीको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।

अहिले प्रहरीले यस घटनामा संलग्न छ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीको तथ्याङ्कअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ । पछिल्ला पाँच वर्षमा ३० जना किशोरीलाई बेचबिखन तथा ओसारपसार हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ । बेचबिखन तथा ओसारपसार हुनबाट किशोरी, महिला, बालक र पुरुष गरी ४ सय ४३ जनाको उद्धार गरिएको छ ।

 

प्रतिक्रिया