अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

राष्ट्रपतिमा दाबी नगर्ने दलहरुसंग निर्णायक मत

बिआरटीनेपाल २०७९ माघ २० गते ६:३७ मा प्रकाशित

आगामी फागुुन २५ गते राष्ट्रपतिको निर्वाचन हुुदैछ । भावी राष्ट्रपतिका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरिरहे पनि निर्णायक मत भने उनीहरूबाहेकका दलसँग रहेको छ । यी दुईमध्ये एकातिर तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र मात्र जोडिँदा पनि राष्ट्रपति निर्वाचित हुन पर्याप्त मत पुग्दैन । त्यस्तो अवस्थामा साना दलहरूको मत समेत निकै महत्वपूर्ण हुने अवस्था छ ।

निर्वाचनको लागि उम्मेदवारी मनोनयन फागुन १३ गतेका लागि तोकिएको छ । राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतभारबाट हुने निर्वाचनमा माओवादी, कांग्रेस र एमालेको तानातानमा देखिन्छ । ५२ हजार ६ सय २८ को कूल मतभारमा राष्ट्रपतिमा विजयी हुन बहुमत अर्थात २६ हजार ३१५ मत कटाउनुपर्ने हुन्छ ।राष्ट्रपति चुनावमा प्रमुख दाबेदार कांग्रेसको १६ हजार २ सय २१ मत छ । अर्को दाबेदार एमालेको १५ हजार ३६० मत छ । यी दुवै दलबीचको प्रतिस्पर्धामा माओवादीको ७ हजार ८ सय २४ मत निर्णायक अवस्थामा छ ।

माओवादीको भोट आकर्षित गर्न सक्ने दलले नै अन्य साना दलबाट आवश्यक मत पाउन सक्ने देखिन्छ । २ हजार ४ सय ५० मत भएको राष्ट्रिय प्रजातन्त्र पार्टी र १ हजार ५०१ मत भएको रास्वपा एमाले निकट देखिएका छन् । यी दलको मत १९ हजार ३ सय ११ छ ।

अहिलेको सत्ता गठबन्धनअनुसार एमाले, माओवादी, राप्रपा र रास्वपा मिले २७ हजार २ सय १४ मत कटाउने छन् । तर, एमालेलाई राष्ट्रपति दिन माओवादीले आनाकानी गरिरहेको छ । माओवादीबाहेकका दल पनि निर्णायक मत लिएर बसेका छन् । २ हजार ४ सय ९४ मत भएको नेकपा एस, २ हजार १४५ मत भएको जसपा, १ हजार २४२ मत भएको जनमत, १ हजार १९ मत भएको लोसपा र ८९२ मत भएको नागरिक उन्मुक्ति पार्टीको मत राष्ट्रपतिका लागि निकै महत्वपूर्ण रहेको देखिन्छ । यी दलको कुल मत ७ हजार ७ सय ९२ छ । जुन माओवादीको भन्दा ३२ मतले कम हो । यी दलले मत नदिए कांग्रेस र माओवादी मात्रै मिल्दा पनि राष्ट्रपति जित्ने अवस्था हुँदैन ।

एमाले, राप्रपा र रास्वपाको १९ हजार ३९० मतमा यी नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीको मत जोड्दा २७ हजार १८२ मत पुग्ने देखिन्छ । साना दललाई मनाउन सके एमालेले कांग्रेस र माओवादी बिना नै राष्ट्रपतिको चुनाव जित्न सक्छ । तर, एमालेले राप्रपा र रास्वपालाई बढी च्याप्दा अन्य दलसँग सम्बन्ध बिगारिरहेको छ ।अर्कातर्फ आफैंबाट विभाजित नेकपा एससँग उसको सम्बन्ध झन् तिक्ततापूर्ण छ । सोही कारण यो समीकरण अंक गणितमा मात्र सम्भव देखिन्छ । २ हजार ४ सय ९४ मत भएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी तटस्थ छ । जनता समाजवादी पार्टीले कांग्रेस र एमालेबाहिरबाट पनि राष्ट्रपति चुनावमा उम्मेदवार हुन सक्ने भन्दै आफूहरू निर्णायक रहेको जनाउ दिएको छ ।

राष्ट्रपतिको निर्वाचनमा स्वतन्त्र सांसदको मत पनि ८ सय ७५ रहेको छ । राष्ट्रपतिको प्रतिस्पर्धामा यिनीहरूले पनि प्रभाव पार्न सक्ने छन् । स्वतन्त्र मतमध्ये धेरै मत कांग्रेसले पाउन सक्ने चर्चा छ । स्वतन्त्रबाहेक राष्ट्रिय जनमोर्चाको १५८, नेपाल मजदुर किसान पार्टीको २२३, हाम्रो नेपाली पार्टीको ९६ र संघीय समाजवादी पार्टीको ४८ मत छ ।

प्रतिक्रिया