अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

बिआरटीनेपाल २०७९ माघ १३ गते ५:२२ मा प्रकाशित

सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ । राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतिकाबीच माओवादी केन्द्रको शुक्रवार बसेको पार्टी स्थायी कमिटीले बैठकले त्यस्तो निर्णय गरेको हो ।एमालेसहितका दलहरुसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनु भयो ।

बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि त्यसै अनुसार अघि बढने नीति लिएको उहाँको भनाइ थियो ।उपाध्यक्ष महराले भन्नुभयो, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने धेरै कमरेडहरुको आवाज आएको छ । राष्ट्रिय सहमति कहाँ हुन्छ ? राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ । राष्ट्रिय सहमति हुन्छ कि हँदैन ? त्यो बाँकी छ । तर हाम्रो मत भने त्यो हो । अरु पार्टीसँग पनि छलफल हुन्छ । एमालेसहितको राष्ट्रिय सहमतिमा जाने हो । त्यसमा एमालेलाई धोका दिने भन्ने हुँदै होइन । राष्ट्रिय सहमति कायम गर्न पहल गर्ने हो ।’

उपाध्यक्ष महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनसम्बन्धी प्रतिवेदन र अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धी प्रतिवेदन बैठकमा पेस गर्नु भएको थियो ।पार्टी एकतासम्बन्धी प्रतिवेदनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पार्टी एकताका लागि संस्थागत रुपमा वार्ता प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ ।त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि एकताका लागि व्यक्तिगत रुपमा पहल सुरु गरिएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको उपाध्यक्ष महराले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा खास गरेर तीन जना कमरेडहरु र मैले पार्टी एकता सम्बन्धी प्रतिवेदन पेस गरेँ । त्यसपछि जनार्दन शर्माले संगठन सम्बन्धी प्रतिवेदन र गिरिराजमणि पोखरेलले स्कुलिङ सम्बन्धी प्रतिवेदन पेस गर्नु भयो । र, हिजो अध्यक्षले पेश गर्नु भएको प्रतिवेदन र यी सबै विषयमा आज २७ जना कमरेडहरुले आ–आफ्नो मत राख्नु भयो ।’

बैठकले स्थायी कमिटि बैठकमा नेताहरुले उठाएको विषयलाई एकीकृत गर्न र पार्टीका केन्द्रीय कमिटिका नेताहरुको कार्यविभाजनको ठोस प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा उपमहासचिवहरुको टीमलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।हिजोबाट सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठक पर्सि १६ गते आइतवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू