अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

भारतमा उत्पादित कफ सिरफ ‘डक–१ म्याक्स’ प्रयोग नगर्न डब्ल्यूएचओको आग्रह

बिआरटीनेपाल २०७९ पुष २९ गते ४:३८ मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित कफ सिरप ‘डक–१ म्याक्स’ को प्रयोग नगर्न आग्रह गरेको छ ।उज्वेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको ज्यान गएपछि मुख्य कारण भारतमा उत्पादन भएको कफ सिरफ प्रयोग मानिएको थियो ।

डब्ल्यूएचओले भारतको मेरियन बायोटेकले उत्पादन गरेको यो औषधि गुणस्तरहीन भएको र कम्पनीले स्वास्थ्य सुरक्षा र गुणस्तर सुनिश्चित गर्न असफल भएको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । अघिल्लो महिना ‘डक–१ म्याक्स’ नामको खोकी रोक्ने झोल औषधि खाँदा कम्तीमा २० बालबालिकाको ज्यान गएको उज्वेकिस्तानका अधिकारीहरूले बताएपछि अनुसन्धान थालिएको थियो ।

भारतको स्वास्थ्य मन्त्रालयले यो कम्पनीको उत्पादन रोकेको थियो भने उज्वेकिस्तानले पनि आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो । औषधिमा प्रयोग भएको ‘डाइथिलीन ग्लाइकोल’ र ‘इथिलीन ग्लाइकोल’ मानव स्वास्थ्यका लागि विषाक्त मानिन्छ । विशेष गरी बालबालिकामा यसको प्रयोगले गम्भीर क्षति गर्ने डब्ल्यूएचओले विज्ञप्तिमा जनाएको छ । मेरियन बायोटेक कम्पनीका जिम्मेवार व्यक्तिसँग प्रतिक्रियाका लागि प्रयास गरेको तर सम्पर्क हुन नसकेको पनि एएफपीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू