अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 04:31

संसदमा विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी

बिआरटीनेपाल २०७९ पुष ३ गते ४:४० मा प्रकाशित

संघीय संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ ।  जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न  सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको हो । संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिर जाने क्रम बढेपछि सचिवालयले विकल्पका रूपमा विद्युतीय हाजिरी व्यवस्थापन गर्न लागेको हो ।

संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले कोरोना सङ्क्रमण हटेको औपचारिक घोषणा भइनसकेको तर सांसदको उपस्थितिको अभिलेख राख्नुपर्ने पक्षलाई दृष्टिगत गरी हातको औँला वा मुखाकृति वा हस्ताक्षरबाट हाजिरी जनाउनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो ।     जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने देशको सर्वोच्च जनप्रतिनिधिसभा संसद्का सदस्यको मुख्य जिम्मेवारी संसद् र संसदीय समितिका बैठक, भेला र छलफलमा सहभागी भई मुलुक र जनहितमा विधि निर्माण गर्नु हो । सांसदलाई अनुशासित र कर्तव्यपरायण तुल्याउने औजारका रूपमा विद्युतीय हाजिरी प्रणालीले सहयोग पु¥याउने उहाँले बताउनुभयो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो सदनको कार्यव्यवस्था परामर्श समितिको सुझाव प्रतिवेदनका आधारमा यसअघि नै विद्युतीय हाजिरीको व्यवस्थापन गर्न सचिवालयलाई निर्देशन दिइसक्नुभएको छ । अध्यक्षको निर्देशनानुसार प्राविधिक पक्ष र सफ्टवेयर विकास गर्नेबारे सचिवालयले अध्ययन सुरु गरिसकेको छ ।     पछिल्ला संसदको अधिवेशन बैठकमा जनप्रतिनिधि सदनमा आउने तर उपस्थिति जनाएर अन्यत्र हिँड्नेलगायत प्रवृत्तिले प्रश्रय पाउन थालेपछि सचिवालयले विद्युतीय हाजिरी व्यवस्थापनको पहल गर्न लागेको हो ।

सदन र संसदीय समिति बैठकमा जनप्रतिनिधिको आवश्यक न्यूनतम सङ्ख्या नपुगेर पटक पटक बैठक स्थगन हुँदा विभिन्न विधेयक र प्रस्तावमाथि गहन एवम् मसिनोसँग छलफल र बहस हुन नसकेका दृष्टान्तहरु धेरै छन् ।  बैठकमा प्रवेशपूर्व कागजी हाजिरी जनाएर सांसदहरू आफ्नो मूल जिम्मेवारीभन्दा बाहेकका अरू नै काममा लाग्ने, अन्य कक्षमा गई गफ गर्ने, चिया–कफी पिएर घन्टौँ समय बिताउने, घाम ताप्ने, सामाजिक कार्यहरूमा संलग्न हुने प्रवृत्ति रहिआएको छ ।  विद्युतीय हाजिरीको व्यवस्थापछि यस्तो कार्य न्यून हुँदै जाने सचिवालयको विश्वास छ ।

प्रतिक्रिया