अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न मार्ग प्रशस्त भयो : प्रमुख निर्वाचन आयुक्त थपलिया

बिआरटीनेपाल २०७९ पुष ३ गते ४:२९ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न मार्ग प्रशस्त भएको बताउनुभएको छ । आज आइतवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदलाई प्रमाणपत्र दिने कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने बाटो खुलेको बताउनुभएको हो । उहाँले आयोगले चुनावकाे मत परिणाम सार्वजनिक गरिसकेको र निर्वाचित सबैलाई प्रमाणपत्रसमेत दिइसकेकाले नयाँ सरकार गठन हुने प्रक्रिया सुरु गर्न मार्ग प्रशस्त भएको बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले एक महिनाभित्रमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव भइसक्ने पनि बताउनुभयो । यसका निम्ति सांसदले शपथ ग्रहण गर्नासाथ प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ । चुनावकाे मिति भने सरकारसँगको परामर्श पछि तय गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आजदेशि दुवै सभा आह्वान गर्नका निम्ति मार्ग प्रशस्त भएकाे छ । सभा आह्वान हुनासाथ स्वाभाविकरूपले शपथ हुनेछ । नयाँ सरकार गठन हुने प्रक्रिया प्रारम्भ गर्न मार्ग प्रशस्त भइसकेको हुनाले सबै प्रक्रिया हेरेर उपयुक्त समयमा राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनको प्रक्रियालाई अगाडि बढाउँछौँ ।’ थपलियाले गएकाे चुनावबाट सिकेका पाठलाई प्रयोग गर्दै आउँदा चुनावलाई व्यवस्थित बनाउनतर्फ आयोगले ध्यान दिने उल्लेख गर्नुभयो । उहाँले नवनिर्वाचित सांसदको पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया