अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 14:34

चिनियाँ राष्ट्रपति सी तीन दिने भ्रमणका लागि साउदी अरबको रियादमा

बिआरटीनेपाल २०७९ मंसिर २२ गते ६:५२ मा प्रकाशित

चीनका राष्ट्रपति सी जिनपिङ साउदी अरबको भ्रमणमा जानुभएको छ । तीन दिने भ्रमणका लागि उहाँ राजधानी रियाद पुग्नुभएको छ । यो भ्रमण विशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित रहेको  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बताउनुभएको छ ।

राष्ट्रपति सीको साउदी अरब भ्रमण अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो । व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन र अमेरिकाबीचको सम्बन्ध विगत केही समयदेखि तनावपूर्ण छ। कच्चा तेलको प्रमुख निर्यातकर्ता साउदी अरब र चीन कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण देखिएको विश्वव्यापी आर्थिक उथलपुथल साथै भूराजनीतिक पुनःमिलनको समयमा आफ्नो सम्बन्ध विस्तार गर्न उत्सुक देखिएका विश्लेषण गरिएको छ ।

सन् २००५ देखि २०२० को बीचमा अरब क्षेत्रमा चिनियाँ लगानीको २० प्रतिशतभन्दा बढी हिस्सा साउदी अरबले ओगटेको थियो । साउदी अरब र चिनियाँ अधिकारीहरूले भ्रमण कार्यसूचीको बारेमा थोरै मात्रै जानकारी दिएका छन् । यद्यपि सरकारका निकट साउदी विश्लेषक अली शिहाबीले ‘धेरै सम्झौतामा हस्ताक्षर हुने’ सङ्केत गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू