अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

जी–२० घोषणापत्रको मस्यौदामा युक्रेन युद्धको निन्दा

बिआरटीनेपाल २०७९ कार्तिक २९ गते ५:४४ मा प्रकाशित

जी–२० शिखर सम्मेलनको घोषणापत्रको मस्यौदामा युक्रेन युद्धको निन्दा गर्दै यसले विश्वव्यापी अर्थतन्त्र कमजोर बनाएको उल्लेख गरिएको छ । इन्डोनेसियाको बालीमा चलिरहेको सम्मेलनमा भोलि बुधवारसम्म अन्तिम रूप दिने मस्यौदाको मुख्य भागमा युक्रेन युद्धको निन्दा गरिएको बीबीसीले जनाएको छ ।

सम्मेलनमा रुसले युक्रेनमा गरेको आक्रमणप्रति धेरैजसो देशका प्रतिनिधिले भर्त्सना गरेका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनमाथि बर्बर युद्ध भइरहेको भन्दै आक्रमण अन्त्य गर्न रुसलाई आह्वान गर्नु यो सम्मेलनको मुख्य लक्ष्य रहेको बताउनुभयो । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले भने जी–२० घोषणाको मस्यौदामा राजनीतिकरण भएको प्रतिक्रिया दिनुभएको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीले युद्ध रोक्नका लागि १० बुँदे प्रस्ताव अघि सार्नुभएको छ । जेलेन्स्कीको प्रस्तावमा विकिरण तथा आणविक सुरक्षा, खाद्य र ऊर्जा सुरक्षालगायतका विषय समावेश रहेका बीबीसीले जनाएको छ ।

यस्तै उहाँले रुसले हिरासतमा राखेका आफ्ना नागरिकलाई रिहा गर्नुपर्ने, राष्ट्र सङ्घको बडापत्रको पालना हुनुपर्ने, युक्रेनबाट रुसी सेना फिर्ता हुनुपर्ने र युक्रेनले न्याय पाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले प्राकृतिक स्रोत तथा वातावरणको रक्षा र दुई पक्षबीच तनावको स्थिति अन्त्य गर्दै युद्ध अन्त्य भएको पुष्टि गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीले विश्वमा अस्थिरताको अन्त्यका लागि युद्ध अन्त्य गर्न आवश्यक ठानेकाले शान्तिको प्रस्ताव गरेको तर दुष्ट प्रवृत्तिविरुद्ध अन्तिमसम्म लड्न युक्रेन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू