अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

जी–२० शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु

बिआरटीनेपाल २०७९ कार्तिक २९ गते ५:३७ मा प्रकाशित

विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरुको समूह जी–२० को शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु भएको छ । सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुख इन्डोनेसिया पुगेका छन् । ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ भन्ने मुख्य नाराका साथ शिखर सम्मेलन सुरु भएको हो । आज र भोलि हुने जी–२० नेताहरूको शिखर सम्मेलनमा विश्वव्यापी स्वास्थ्य संरचना, दिगो ऊर्जा सङ्क्रमण र डिजिटल रूपान्तरण गरी तीन वटा मुख्य प्राथमिकताका विषयमा छलफल केन्द्रित हुनेछ ।

सम्मेलनमा रुसले युक्रेनमा गरेको आक्रमण, बढ्दो खाद्य असुरक्षालगायतका विषयमा पनि छलफल हुनेछ । सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी जिन‍पिङ, बेलायती प्रधानमन्त्री ऋषि सुनक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत इन्डोनेसिया पुग्नुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भ्रमण स्थगित गरेर विदेशमन्त्री सर्गेइ लाभरोभलाई प्रतिनिधिका रुपमा पठाउनुभएको छ । सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी बीच भेटवार्तासमेत भएको छ । बालीमा तीन घण्टा लामो भेटवार्तामा शीर्ष दुई नेताबीच द्वन्द्व टार्ने विषयमा छलफल भएको बीबीसीले जनाएको छ ।

यसैबीच संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनबाट सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्न रुससँग भएको सम्झौता विश्वको खाद्य सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताउनुभएको छ । इन्डोनेसियाको बालीमा जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा उहाँले विश्वका धेरै ठाउँमा अनिकाल र भोकमरी हुन नदिन तत्काल कदम चाल्न आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू