अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३२ | Colorodo: 20:47

रुसी विदेशमन्त्रीद्वारा जी२० सम्मेलनमा आफूलाई अस्पताल लगिएको समाचारको खण्डन

बिआरटीनेपाल २०७९ कार्तिक २८ गते ६:०२ मा प्रकाशित

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आफूलाई हृदयघातका कारण अस्पताल लगिएको समाचार झुटो भएको भन्दै खण्डन गर्नुभएको छ । उहाँले झुटो रिपोर्टिङ गरेको भन्दै पश्चिमी पत्रकारहरूलाई गालीसमेत गर्नुभयो ।एसोसिएटेड प्रेसले इन्डोनेसियाका अधिकारीहरूलाई उद्धृत गर्दै लाभरोभलाई जी२० शिखर सम्मेलनका लागि बाली टापुमा आइपुगेपछि अस्पताल लगिएको उल्लेख गरेको थियो । एपीले ७२ वर्षीय लाभरोभको मुटुसम्बन्धी समस्याको उपचार भइरहेको जनाएको थियो ।

“निःसन्देह, यो जालसाजीको उच्चतम विन्दु हो,” रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भन्नुभयो । जाखारोभाले घटनाबारे खण्डन गर्दै सन् २००४ देखि राष्ट्रपति भ्लादिमिर पुटिनको विदेशमन्त्री रहेका लाभरोभको भिडियो पोस्ट गर्नुभएको थियो । । उक्त भिडियोमा लाभरोभले बाहिर आँगनमा बसेर, सर्ट्स र टी–शर्ट लगाएको र कागजातहरू पढिरहेको देख्न सकिन्थ्यो । उहाँको स्वास्थ्य रिपोर्टको बारेमा पत्रकारहरूको जिज्ञासामा लाभरोभले पश्चिमी पत्रकारहरूले ७० वर्षीय पुटिन बिरामी भएको कुरा एक दशकदेखि झुटो लेख्दै आएको बताएका थिए ।

“यो एक प्रकारको खेल हो जुन राजनीतिमा नयाँ होइन,” लाभरोभले व्यंग्यात्मक मुस्कानका साथ भन्नुभयो, “पश्चिमी पत्रकारहरू अझ सत्यवादी हुन आवश्यक छ । उनीहरूले सत्य लेख्न आवश्यक छ ।” आइतबार साँझ बाली आइपुगेका लाभरोभले पश्चिमी सञ्चारमाध्यमहरूले नियमित रूपमा घटनाहरूको अपूरो दृष्टिकोण राखेको र रुसको दृष्टिकोणलाई बेवास्ता गर्दै आएको आरोप लगाउनुभएको छ । यता, बालीका गभर्नर आई वायन कोस्टरले लाभरोभले बालीको साङ्लाह अस्पतालमा जाँचको लागि गएको, तर, मन्त्रीको स्वास्थ्य राम्रो रहेको रोयटर्सलाई बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू