अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५ | Colorodo: 11:50

अमेरिकाको टेक्सासमा नेपाल बाहिर अहिले सम्मकै ठुलो नेपाली कार्यक्रम सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७९ कार्तिक २३ गते १०:३२ मा प्रकाशित

टेक्सस । लाइनैसँग स्टलमार्फत नेपाली म:म, चिया, सेल रोटी, पानी-पुरी, चटपटे, सेकुवा, छोयला लगायतका परिकार पकाउँदै- बेच्दै गरेका स्थानीय नेपाली रेस्टुरेन्टहरू, अर्को पट्टि मञ्चमा शिव परियार अनि फिरोज श्याङ्ग्देन (1974AD) र ब्याण्ड को प्रस्तुति, मैदानमा मनोरञ्जनका लागि जादुगर, ‘स्टिल्ट वाल्कार’, घरपालुवा जनवारको चिडियाखाना, स-साना बाल-बच्चाहरूको लागि बाउन्स हाउस, म:म खाने प्रतियोगिता अनि खानाका स्टल र प्रवेश द्वारबाट कार्यक्रम स्थलमा छिर्ने हरूको उस्तै उस्तै लाइन। यो दृश्य हो हालै अमेरिका टेक्ससको आर्लिंगटन सहरमा सम्पन्न “म:म फेस्टिभल” को । स्थानीय “मम टू गो” कम्पनीको आयोजना र स्वतः स्फूर्त रूपमा जुटेका साथीहरूको समूहको व्यवस्थापनमा सम्पन्न यस कार्यक्रममा, नेपाली र गैर नेपालीको लगभग उत्तिकै सहभागिता रहेको थियो।आर्लिंगटन सहरको बिच बाटो छेवैमा रहेको Levitt Pavilion/Founders Plaza पार्क मा भएको यस कार्यक्रममा ८ हजार भन्दा बढीको उपस्थिति रहेको थियो । उपस्थिति सङ्ख्याको आधारमा संबभतः यो नेपाल बाहिर आयोजना भएको अहिले सम्मकै ठुलो नेपाली कार्यक्रम बताइएको छ ।

अनलाइनमा गएर कार्यक्रम हुनु एक दिन अघि सम्ममा टिकेट लिएमा कार्यक्रममा प्रवेश निःशुल्क गरिएको थियो। कार्यक्रमकै दिन टिकेट लिनेको हकमा दश डलर प्रति व्यक्ति तोकिएको थियो। दिउसो २ बजे सुरु भई रति ९ बजे सम्म चलेको यस कार्यक्रमलाई पूर्णरुपमा अमेरिकी तरिकाले पूर्व निर्धारित तालिका अनुसार समयमा सुरु गरी, समयमै सक्काइएको थियो। कार्यक्रम स्थलको सजावट गर्ने, प्रवेशद्वारमा टिकट जाँच्ने, सुरक्षाका लागि प्रहरी र सुरक्षा गार्ड लगायतका जिम्मेवारी सबै गैर नेपालीले सम्हालेका थिए ।

“सधैँ नेपाली विवाह, व्रतबन्ध, दसैँ जस्ता एकैनासका कार्यक्रममा गएर वाक्क भएको थिए, आजको यो कार्यक्रम देखेपछि एकदमै नौलो र आनन्द लाग्यो।” -कार्यक्रमका एक सहभागी सन्तोष योगीले भन्नु भयो । “अरू कार्यक्रम जस्तो भाषण पनि नाइँ, जता हेर्‍यो जे हेर्‍यो रमाइलो मात्रै” – उहाँले मुस्कुराउँदै भन्नु भयो ।

कार्यक्रमका प्रायोजक अनि स्टल सञ्चालक राजु छेत्रीले आयोजकलाई यो बृहत् कार्यक्रमको लागि धन्यवाद दिँदै भन्नु भयो -“यो कार्यक्रमले अब अन्य नेपाली कार्यक्रम गर्नेहरूलाई पनि च्यालेंज थपिदिएको छ, स्ट्यान्डर्ड हाइ गरिदिएको छ ।”

अमेरिकी कम्पनी कोकाकोला, स्थानीय आइटी कम्पनी टेकफायोस लगायतले कार्यक्रमको प्रयोजन गरेका थिए।सहभागीहरुको भोटको आधारमा स्थानीय “करी लिफ रेस्टुरेन्ट” ले “बेस्ट मोमो अफ डल्लास २०२२” को उपाधि हात परेको थियो । त्यस्तै मोमो खाने दुवै प्रतियोगितामा गैर नेपालीले जित हासिल गर्न सफल भएका थिए ।

प्रतिक्रिया