अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५ | Colorodo: 20:50

बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुन लागेका सुनकद्ववारा स्थिरता र एकताको आह्वान

बिआरटीनेपाल २०७९ कार्तिक ८ गते ५:०२ मा प्रकाशित

बेलायतको प्रधानमन्त्रीमा औपचारिक रुपमा नियुक्त हुन लागेका ऋषि सुनकले स्थिरता र एकताको आह्वान गर्नुभएको छ ।उहाँले आर्थिक चुनौतीको सामना गर्दै एकताका लागि आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।आफ्नो पार्टी र बेलायतलाई एकसाथ अगाडि ल्याउने उहाँको प्रतिवद्धता छ । सुनक कन्जरभेटिभ पार्टीका नेता हुनुहुन्छ ।

बेलायतका राजाले औपचारिक रूपमा नियुक्ति गरेपछि आज पदभार ग्रहण गर्ने तयारी छ । उहाँलाई आज बेलायतका राजा चार्ल्सले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुनेछ ।भारतीय मूलका सुनक लिज ट्रसले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बन्न लाग्नुभएको हो । सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुनुहुन्छ ।

बेलायतले आर्थिक चुनौतीको सामना गरिरहेको बेला सुनकले कार्यभार सम्हाल्न लाग्नुभएको हो ।नयाँ प्रधानमन्त्रीका रुपमा उहाँले दशकौँपछि बेलायतमा देखा परेको सबैभन्दा गम्भीर आर्थिक समस्यालाई समाधान खोज्नुपर्ने मुख्य जिम्मेवारी रहने बीबीसीले उल्लेख गरेको छ । सन् २०२० मा सुनक बेलायतको अर्थमन्त्री बन्नुभएको थियो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनक अहिले ४२ वर्षको हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू