अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

जोनसन प्रधानमन्त्रीको दौडबाट बाहिर, पूर्व अर्थमन्त्री सुनक र मन्त्री मोर्डन्टको दाबी

बिआरटीनेपाल २०७९ कार्तिक ६ गते २२:२३ मा प्रकाशित

बेलायतको नयाँ प्रधानमन्त्रीका लागि पूर्वअर्थमन्त्री ऋषि सुनक र वर्तमान सरकारमै रहेकी मन्त्री पेन्नी मोर्डन्टले औपचारिक दाबी गर्नुभएको छ । पूर्व प्रधानमन्त्री बोरिस जोनसोनले प्रधानमन्त्रीको दाबी छाडेपछि सुनक र मोर्डन्टबीच प्रधानमन्त्री पदका लागि प्रतिस्पर्धा हुने देखिएको बीबीसीले जनाएको छ ।मोर्डन्टले दुई दिनअघि नै औपचारिक अभियान सुरु गर्नुभएको छ भने सुनकले आज औपचारिक दाबी प्रस्तुत गर्नुभएको हो ।

यस अघि सुनक र जोनसोनबीच वार्ता भएको थियो । जोनसनले यो समय आफ्ना लागि उपयुक्त नभएको बताए पनि प्रधानमन्त्रीको दाबीका लागि एक सय सांसदको समर्थन आवश्यक पर्नेमा जोनसनको पक्षमा ५७ जना मात्रै खुलेकाले उहाँले दाबी छाड्नुभएको बीबीसीले जनाएको छ । कन्जरभेटिभ पार्टीको एक हजार ९ सय २२ समितिले नयाँ नेता चयन गर्ने गर्छ र नयाँ नेताका लागि उम्मेदवारी मनोनयन गर्न कम्तीमा एक सय सांसदको समर्थन चाहिन्छ ।

सुनकका पक्षमा हालसम्म एक सय ३६ सांसदले सार्वजनिक समर्थन गरिसकेका छन् । मोर्डन्टको पक्षमा अहिलेसम्म २३ सांसदले समर्थन व्यक्त गरेका छन् । तीन सय ५७ सांसद रहेको कन्जरभेटिभ पार्टीभित्र अझै धेरै सांसदहरु मौन रहेका छन् ।सुनकले सार्वजनिक रुपमा वर्तमान समस्या समाधान गर्न र पार्टीलाई एकजुट बनाउन आफू नेताको उम्मेदवार हुने बताएपछि उहाँको पक्षमा थप सांसदहरुले समर्थन जनाउने आशा गरिएको बीबीसीले जनाएको छ ।

बेलायती प्रधानमन्त्री ट्रसलाई कन्जरभेटिभ पार्टीको नेताका रूपमा प्रतिस्थापन गर्ने चुनाव अक्टोबर २८ मा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू