रुसमा आंशिकरूपमा सेना परिचालन गरिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिकरूपमा सेना परिचालन गर्ने घोषणा गर्नुभएको हो ।युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको भनाइ छ । ‘मैले मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र यहाँमा मानिसको सुरक्षालाई ध्यान दिदै आंशिकरूपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर रहेको हुँ’, उहाँले भन्नुभएको छ ।
उहाँका अनुसार देशमा आंशिकरूपमा सेना परिचालनको प्रस्ताव रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले देशभरि आंशिकरूपमा सेना परिचालन गर्ने निर्णय आजैदेखि लागू हुने पनि जानकारी दिनुभयो । उहाँले दोहोर्याउँदै भन्नुभयो, ‘म फेरि पनि भन्छु, अहिले आंशिकरूपमा मात्रै सेना परिचालन गरिएको हो ।’ उहाँले शान्तिपूर्ण निकासका लागि किएभ तयार नभएको बताउँदै त्यही नै मुख्य समस्या भएको टिप्पणी गर्नुभयो ।
सम्बोधनको सुरुमा राष्ट्रपति पुटिनले रुसलाई ध्वस्त पार्न पश्चिमी देशहरू सक्रिय भएर लागिरहेको आरोप पनि लगाउनुभयो । ‘उनीहरू हामीलाई पहिला टुक्र्याउन चाहन्छन्, त्यसपछि ध्वस्त पार्न चाहन्छन्’, उहाँले सम्बोधनका क्रममा भन्नुभयो ।पश्चिमी देशहरूले यसअघि सन् १९९१ मा तत्कालीन सोभियत सङ्घ रहेको बेलामा पनि त्यो कुरा सिधै भन्ने गरेको पनि उहाँले स्मरण गर्नुभयो । रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म पनि युद्ध जारी नै रहेको छ । रुसले युक्रेनमा आक्रमण गरेकोप्रति पश्चिमी देशहरूले चर्को विरोध गर्दै आएका छन् । उनीहरूले रुसलाई एक्ल्याउन आह्वान गर्दै युक्रेनलाई सहयोग पनि गर्दै आएका छन् ।