अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

नेपालसँगका नाका तत्कालै खोल्ने चीनको प्रतिबद्धता, ढुक्क हुन आग्रह

बिआरटीनेपाल २०७९ भदौ २९ गते ७:१८ मा प्रकाशित

चीनले नेपालसँगका तातोपानी र रसुवागढी नाका तत्कालै खोल्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताको क्रममा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुले दुवै नाका तत्कालै खुल्ने जानकारी दिनुभएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टिका ढकाललले उज्यालोलाई जानकारी दिनुभयो ।

‘महामहिमलाई भेट्न आउनु भन्दा पहिले मैले मेरा देशका अधिकारीसँग कुरा गरेर नाका खोल्ने विषय पक्का गरेको छु, नाका अब तत्कालै खुल्नेछन् ।’  जनकंग्रेसका अध्यक्ष चान्सुले राष्ट्रपति भण्डारीसँग भन्नुभयो । नाका पूर्ण रुपमा खुलेको जानकारी केहि दिनमै नेपालका लागि चीनका राजदूतले दिने पनि चान्सुले राष्ट्रपति भण्डारीलाई बताउनुभएको थियो । महामारीका कारण नाका बन्द गर्नुपरेको उल्लेख गर्दै उहाँले अब महामारीबाट बच्दै नाका पहिलेकै अवस्थामा जस्तै सञ्चालन हुनेमा ढुक्क रहन चान्सुले आग्रह गर्नुभएको छ ।

यस्तै, विश्व परिघटनामा बदलाव आउँदा र धेरै चुनौती थपिँदा पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष चान्सुले नेपाललाई चीन र चिनियाँ नागरिकको उच्च सम्मान रहेको पनि बताउनुभएको थियो । यस्तै, नेपालमा आन्दोलनबाट उदाएकी एक महिला राष्ट्रपतिमा निर्वाचित भएको विषय चीन र विश्वका अरु देशका लागि पनि प्रेरणाको विषय भएको अध्यक्ष चान्सुले बताउनुभएको थियो ।

राष्ट्रपति भण्डारीले पनि चीनले नेपाललाई गर्दै आएको सहयोग र देखाएको सद्भावप्रति धन्यवाद दिनुभएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान तानेको भन्दै उहाँले दुई पक्षबीच भएका सम्झौताको कार्यान्वयनमा जोड दिनुभएको पनि सञ्चार विज्ञ ढकालले जानकारी दिनुभयो । भूकम्प र कोरोना महामारीबाट उठ्न चीनको सहयोग निकै महत्वपूर्ण रहेको भन्दै राष्ट्रपति भण्डारीले आउँदा दिनमा पनि नेपाल–चीन सम्बन्ध यस्तै सुमधुर रहिरहने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया