अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 10:22

लिगलिगकोट–गोरखा दरबार म्याराथनमा नेपाली सेनाका तीर्थबहादुर पहिलो

बिआरटीनेपाल २०७९ भदौ २५ गते ६:३२ मा प्रकाशित

प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्मको म्याराथनमा नेपाली सेनाको भवानी दल गणका तीर्थबहादुर तामाङ प्रथम भएका छन् ।आज भएको लिगलिगकोट–सिरानचोक–गोरखा दरबार खुल्ला म्याराथन दौड प्रतियोगितामा निर्धारित ४० किलोमिटरको दूरी ३ घन्टा ११ मिनेट १ सेकेण्डमा पूरा गर्दै तामाङ पहिलो भएका हुन्। उनले नगद १ लाख ५० हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै भारतीय सेना अनिश थापा मगर द्वितीय भए । निर्धारित दूरी ३ घन्टा १२ मिनेट १७ सेकेण्डमा पार गर्दै उनले नगद १ लाखकासाथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।  यस्तै, निर्धारित दूरी ३ घन्टा १५ मिनेटमा पार गर्दै नेपाली सेनाको बरखगणका मोहनदेव जोशी तृतीय भए। उनले नगद ७५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा नेपाली सेनाको चण्डीप्रसाद गणका देवराज महत्तरा चौथो, नेपाली सेनाकै भिमकाली गणका गोविन्द कार्की पाँचौँ, सोलुखुम्बु महाकुलुङ्ग १ का अर्जुन राई कुलुङ्ग छैटाैँ, महेन्द्र दल गणका थमबहादुर अधिकारी सातौँ, गोरखाको सिरानचोक गाउँपालिका-५ का अशोक बराम आठौँ, भुपुसैनिक रैबतबहादुर दाहाल नवौँ र महावीर सौर्यगणका विमल खड्का दशौंँ भए ।

प्रतियोगितामा चौथो, पाँचाैँ, छैटाैँ, साताैँ, आठौँ, नवाैँ र दशौँ स्थान हासिल गर्ने खेलाडीले क्रमशः नगद ५० हजार, ३५ हजार, ३० हजार, २५ हजार, २० हजार, १५ हजार र १० हजार नगदका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका उत्कृष्ट १० खेलाडीलाई प्रमुख अतिथि नेपाली सेनाका मध्यकमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथि बाबुराम श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएकाे हाे। गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ९२ जना सहभागी थिए । प्रतियोगितामा लिगलिगकोटदेखि चित्रेपोखरी, छोप्राक, चोरकाटे, छेबेटार, पस्लाङ चौतारो हुँदै गोरखा दरबारको हनुमान भञ्ज्याङसम्मको दूरी तय गरिएको थियो ।

४ सय ६३ वर्ष पहिले लिगलिगकोटका राजा द्रव्यशाहले गोरखा राज्यमा राज्याभिषेक गरेको दिनको स्मरणमा उहाँले प्रयोग गरेको पदमार्गलाई आधार बनाएर २०७६ सालदेखि म्याराथन सुरु गरिएको थियो । कोभिडका कारण यसअघिका दुई वर्ष यो प्रतियोगिता हुन सकेकाे थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू