अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित

बिआरटीनेपाल २०७९ भदौ २३ गते ६:०४ मा प्रकाशित

नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्र बहादुर चन्द निर्वाचित भएका छन् ।बुधबार भएको चुनावी साधारण सभामा निरोज मास्केलाई २६ मतले पराजित गर्दै चन्द संघको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् ।अध्यक्षमा निर्वाचित चन्दले ७६ मत ल्याउँदा मास्केले ५० मत प्राप्त गरिन् ।

महासचिव पदमा चन्दकै प्यानलका रोशन श्रेष्ठ निर्वाचित भए । उनले मनवीर छन्तयाललाई हराए । श्रेष्ठले ८५ र मनवीरले ३९ मत प्राप्त गरे । कोषाध्यक्षमा पनि चन्द प्यानलकै श्याम श्रेष्ठ निर्वाचित भए ।उपाध्यक्ष पदमा याम बहादुर गुरुङ (गण्डकी), उपेन्द्र कुमार यादव (मधेश प्रदेश), हर्क सिंह धामी (सुदूरपश्चिम), मदन खड्का (प्रदेश १) र भिम ओली (लुम्बिनी) निर्विरोध निर्वाचित भए । बागमती प्रदेशबाट उपाध्यक्षमा गौतम प्रसाद लासिवा विजयी भए । उनले ६४ मत ल्याउँदै ५९ मत प्राप्त गरेकी ज्योति केसीलाई ५ मतले हराए ।

उपाध्यक्षमा निर्विरोध भएको भनिएका भरतबहादुर शाह कर्णालीको नभएका कारण उनको उम्मेदवारी अन्तिम समयमा बदर भएको थियो । उपाध्यक्ष (कर्णाली) पद हाललाई रिक्त रहने बताइएको छ ।सचिवमा सोम बहादुर श्रेष्ठ (मंगल) (कर्णाली), महम्मद फिरोज (मधेश), श्रीधर शर्मा (गण्डकी), गणेश सिंह ठगुन्ना (सुदूर) र सुनकेशरी माली (बागमती) प्रदेशबाट निर्विरोध निर्वाचित भए ।

सचिव पदमा लुम्बिनी प्रदेशतर्फ भएको निर्वाचनमा झक बहादुर मिदुनले ७३ मत ल्याउँदै ३७ मत प्राप्त गरेका दीपक जिएमलाई पछि पारे । प्रदेश १ सचिवतर्फ विनोद सुवेदीले ६५ मतका साथ ४४ मत ल्याएका विश्वराज धिमाललाई पराजित गरे ।संघको निर्वाचनमा १ सय ३१ मतदातामा ३ जनाबाहेक सबैले मतदान गरेका थिए । संघको नयाँ नेतृत्व सहित ७ उपाध्यक्ष, १ महासचिव, ७ सचिव, १ कोषाध्यक्ष र ११ कार्यसमिति सदस्यका लागि निर्वाचन भएको थियो । संघमा दुई उपाध्यक्ष र १० जना सदस्य मनोनयनबाट आउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू