अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

पाकिस्तानमा बाढी पहिरोमा परेर करिब एक हजारको मृत्यु, ‘प्रकोपका कारण तीन करोड भन्दा बढी आश्रयविहीन’

बिआरटीनेपाल २०७९ भदौ ११ गते ६:२५ मा प्रकाशित

पाकिस्तानमा मनसुनी वर्षा जारी रहँदा करिब एक हजार जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण करिब तीन करोड भन्दा बढी व्यक्ति आश्रयविहीन भएको त्यहाँको सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।लगातारको बाढीका कारण जनधनको क्षति हुने क्रम जारी रहेकाले पाकिस्तान सरकारले आपतकालको घोषणा गरेको छ ।राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार जुन मध्यदेखि ३४३ बालबालिकासहित कम्तिमा ९३७ जनाको मृत्यु भएको छ ।

बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तको ठूलो क्षेत्रजलमग्न भएको छ । सो क्षेत्रमा सन् २०१० मा पनि अत्यधिक वर्षाका काण ठूलो जनधनको क्षति भएको थियो । उक्त समयमा बलुचिस्तान र दक्षिणी सिन्ध प्रान्तमा ५४० जनाको मृत्यु भएको थियो ।प्रधानमन्त्री शहबाज सरिफले दशकौंको सबैभन्दा खराब बाढीका कारण ठूलो जनधनको क्षति भएकाले मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहयोगको अपिल गर्नुभएको छ । मुलुकमा आपतकालको घोषणा गरिएकाले आफ्नो बेलायत भ्रमण पनि स्थगित भएको सरिफले बताउनुभयो ।

वर्षा निरन्तर जारी रहेकाले जनधनको क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । बाढीका कारण चार प्रान्तका एक सय भन्दा बढी जिल्लाहरु प्रभावित भएको बताइएको छ । ती मध्ये बलुचिस्तानको राजधानी क्वेटा जोड्ने अधिकांश राजमार्ग र पुलहरु क्षतिग्रस्त भएको बताइएको छ । बाढीले सबैभन्दा बढी प्रभावित बलुचिस्तान र सिन्ध प्रान्तमा यस वर्ष मात्र क्रमश २९८ र ६८९ मिलिमिटर वर्षा भएको छ । यो पछिल्लो ३० वर्षको औषत वर्षाभन्दा चार सय प्रतिशतले बढी रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू