अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

वर्ष दिनभित्र नेपाली क्रिकेट टाेलीले राम्राे नतिजा निकाल्छ : प्रशिक्षक प्रभाकर

बिआरटीनेपाल २०७९ भदौ ६ गते ७:५१ मा प्रकाशित

पाँच वटा खेलकाे टी–२० अन्तर्राष्ट्रिय र तीन वटा खेलकाे एकदिवसीय शृङ्खलाका लागि केन्या भ्रमण गर्न लागेको नेपाली टोलीलाई सोमवार नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिदाइ गरेको छ । साेमवार काठमाण्डाैमा एक कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको टोलीलाई क्यानले बिदाइ गरेको हो । टोलीलाई क्यानका अध्यक्ष चतुबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंहलगायतले बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा बोल्दै नेपाली टोलीका प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणका लागि टोलीको तयारी राम्रो रहेको भन्दै राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गर्नुभयो । अहिलेको अवस्थामा नेपाली टोली कच्चा रहेको बताउँदै वर्ष दिनभित्र युवा टोलीले क्रिकेटमा राम्रो नतिजा निकाल्ने उहाँकाे भनाइ थियाे । केन्या भ्रमण नयाँ खेलाडी र पुनरागमन गरेका खेलाडीका लागि महत्त्वपूर्ण रहेको नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बताए । प्रशिक्षक प्रभाकरका लागि पहिलो भ्रमण भएको र सबै खेलाडी भ्रमणका लागि उत्साहित भएको उनले प्रतिक्रिया दिए । प्रशिक्षक प्रभाकरको प्रशिक्षणमा खेलमा नयाँ पन आएको भन्दै सबै खेलाडी नयाँ शैलीको खेलका लागि उत्साहित भएको लामिछानेले बताए ।

क्यानका अध्यक्ष चन्दले आफूभन्दा कमजोर टिमसँग पनि पराजित हुनुपरेको भन्दै अब आफूभन्दा शक्तिशाली टिमसँग प्रतिस्पर्धा गर्न लागेको बताए । आईसीसीले कोरोनालगायतका विभिन्न कारण देखाएर खेलकाे तालिका ननिकाल्दा नेपाललाई मार परिरहेको उनकाे भनाइ छ ।

केन्या भ्रमण गर्न लागेको टोलीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् । क्यानले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा मल्लले पुनरागमन गर्दा यू–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् । राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्यान्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला टोलीबाट बाहिरिएका छन् । केन्या भ्रमणपछि नेपाली टोली नामिबियामा आयोजना हुने विश्व क्रिकेट लिग डिभिजन–२ का लागि जानेछ । नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित प्रतियोगिताका लागि केन्या भ्रमण युवा टोली र नयाँ प्रशिक्षकका लागि अर्थपूर्ण तरिकाले हेरिएको छ ।

पाँच खेलको ट्वान्टी–२० शृङ्खला भदौ ९ देखि १४ गतेसम्म हुनेछ । तीन खेलको एकदिवसीय शृङ्खला भदौ १७ देखि २० गतेसम्म आयोजना हुने तालिका रहेको छ । दुवै शृङ्खला नैरोवीकाे जिमखाना मैदानमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू