अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 09:22

सिर्जनात्मक लेखनमालाको श्रृँखला १ कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७९ भदौ ३ गते १४:५९ मा प्रकाशित

वन तथा वातावरण साहित्यिक समूहको आयोजना र हिमाली सँरक्षण समूहको प्रविधि सँयोजनमा यहि साउन २८ गते शनिबार सिर्जनात्मक लेखनमालाको श्रृँखला १ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । लेखनमालाको उद्येश्य वन तथा वातावरणकर्मीहरुसँग चर्चित लेखकहरुको साक्षात्कार गराउनु र अन्तरक्रियामार्फत वनकर्मीहरुको सृजनात्मक लेखनलाई सघाउनु रहेका छन् । लेखनमालाको श्रृखला १ मा वक्ताको रुपमा चर्चित आख्यानकार नयनराज पाण्डे निम्त्याइएका थिए ।

आयोजक र सँयोजक सँस्थाको तर्फबाट कमला रुपाखेतीले अतिथी वक्ता र सम्पूर्ण सहभागीहरुलाई स्वागत गरेका थिइन । स्वागत मन्तव्यको क्रममा रुपाखेतीले यस लेखनमाला कार्यक्रमले वन तथा वातावरणकर्मीहरुको लेखनयात्रालाई सघाउ पु¥याउने विश्वास आफूले लिएको बताईन् ।
लेखनमालालाई तीन चरणमा बाँडिएको थियो । पहिलो चरण, प्रारम्भिक लेखन र संघर्ष। दोश्रो चरण, लेखकिय अनुभव र पर्यावरण केन्द्रित साहित्य, र तेस्रो चरण, उपयोगी टिप्सहरु । कार्यक्रमको सहजीकरण निबन्धकार रोशन शेरचनले गरेका थिए ।

वहुविधामा प्रभावशाली ढंगले झण्डै चार दशकदेखि निरन्तर कलम चलाइरहेका आख्यानकार नयनराज पाण्डेका हालसम्म ७ वटा उपन्यास र ४ कथा सँग्रह प्रकाशित छन् । विगतमा श्रव्यदृश्य, सिनेमा र डकमेन्ट्रीको पटकथामा समेत सक्रिय पाण्डे हाल हिमाल पत्रिकाका स्तम्भकार समेत हुन । नेपाली उपन्यास क्षेत्रमा मानक कृति मानिएको पाण्डेको उपन्यास उलार हाल स्नातक तह तृतीय वर्षको नेपाली पाठ्यक्रममा पढाइन्छ । सिमान्तकृत वर्ग समुदायलाई बिसँगत राजनितीले कसरी थप सिमान्तकृत पार्दै लग्छ, उलारमा त्यसको प्रभावशाली कथा पढ्न सकिन्छ ।

आफ्नो वाल्यकाल, किशोरकाल र लेखनको प्रारम्भिक काल नेपालगँजमै बितेकोले आफ्ना अधिकाँश रचनाका भावभूमि नेपालगँज भएको बताए । वर्तमान समयमा वन, वातावरण र पर्यावरण, मानवीय जोखिम र जलवायू परिवर्तनको चपेटामा पर्दै गएकोले यी विषयहरुमा लेख्न सान्दर्भिक मात्र नभइ सामाजिक दायित्व समेत भएको पाण्डे बताउछन् । मैले केहि रचनामा, विपन्न र सिमान्तकृत समदायसँग घोडा, नाग र जमीनको साँस्कृतिक सम्बन्धको बारे लेखेको छु तर ती कदाचित पर्याप्त छैन, निजको स्विकारोत्ती छ ।

लेखन यात्रामा पठन अभिन्न अँग रहेकोले पठनलाई लेखनकै हिस्सा मान्नु पर्ने वक्ताले सहभागीहरुसँग छलफलका क्रममा बताए । सहभागीहरुले आफ्ना प्रश्न तथा जिज्ञाषाहरु राखेका थिए । कार्यक्रमलाई वन तथा वातावरण साहित्यिक समूहका हिमलाल श्रेष्ठले सँचालन गरेका थिए ।

लेखनमालाको नियमित आयोजना गर्ने साथै वर्ष दिनभित्र वन तथा वातावरणकर्मीहरुको रचनाको सँगालो प्रकाशन गर्ने योजना रहेको श्रेष्ठले बताए ।
अन्तमा हिमाली सँरक्षण समूहका भरतमान श्रेष्ठले अतिथी वक्ता नयनराज पाण्डे लगायत सम्पूर्ण सहभागीहरुलाईसक्रिय सहभागीताको निम्ति धन्यवाद दिएका थिए । गत विश्व वातावरण दिवस अर्थात जून ०५ मा स्थापना गरिएको वन तथा वातावरण साहित्यिक समूहले भविष्यमा पनि यस्ता कार्यक्रमहरु नियमित गर्दै जाने र त्यसमा सबैको साथ सहयोगका अपेक्षा रहेको समेत श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू