अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

अदालतको आदेशपछि अमेरिकामा बन्द हुँदै गर्भपतन गराउने क्लिनिक, फैसलापछि विभिन्न शहरहरूमा प्रदर्शन

बिआरटीनेपाल २०७९ असार ११ गते ८:४७ मा प्रकाशित

अमेरिकाको सर्वोच्च अदालतले महिलाले गर्भपतन गर्न पाउने सम्बन्धी संवैधानिक अधिकार समाप्त हुने फैसला गरेलगत्तै कतिपय राज्यमा गर्भपतन गराउने क्लिनिकहरू बन्द हुन थालेका छन् ।‘रो भर्सस वेड’ भनिने गर्भपतनलाई कानुनी मान्यता दिने ५० वर्ष पुरानो आदेश अदालतले उल्टाएपछि अमेरिकाका आधाजसो राज्यले गर्भपतनमा नयाँ प्रतिबन्ध वा कडाइ गर्ने अपेक्षा गरिएको छ । तीमध्येका १३ राज्यले ट्रिगर ल भनिने कानुन बनाएर गर्भपतनलाई प्रतिबन्धित गर्ने व्यवस्था मिलाइसकेका छन् ।

शुक्रबारको आदेशसँगै ती राज्यमा अब गर्भपतन स्वतः गैरकानुनी ठहरिनेछ । राष्ट्रपति जो बाइडनले अदालतको आदेश एउटा दुःखद गल्ती भएको टिप्पणी गर्नुभएको छ । अमेरिकाका विभिन्न शहरहरूमा फैसलापछि प्रदर्शनहरू भइरहेका छन् ।गर्भपतनमा तत्काल प्रतिबन्ध लगाउने कानुन बनाइसकेको आर्कन्सा राज्यको लिटल रकस्थित एउटा गर्भपतन क्लिनिकले अदालतको आदेश अनलाइनमा प्रकाशित भएलगत्तै गर्भपतन सेवा बन्द गरेको छ । कर्मचारीहरूले डाक्टरसँग भेट्ने समय लिइसकेका महिलालाई टेलिफोन गरेर उनीहरूको भेट रद्द गरिएको जानकारी दिइरहेका छन् ।

क्लिनिकबाहिर गर्भपतनविरोधी प्रदर्शनकारीहरूले हर्षोल्लास गरिरहेका थिए । सर्वोच्च अदालतको फैसलाले अमेरिकामा प्रजनन गर्न सक्ने उमेरका तीन करोड ६० लाख महिलालाई आफ्नो राज्यमा गर्भपतनको पहुँचबाट रोक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाका दक्षिणपन्थी तथा धार्मिक अभियानकर्मीहरूले गर्भपतनसम्बन्धी अधिकारको विरोध गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू