अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल आउने

बिआरटीनेपाल २०७९ असार ११ गते ८:४६ मा प्रकाशित

आर्थिक रूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल आउने भएको छ ।अमेरिकी अर्थ मन्त्रालय र विदेश मन्त्रालयको प्रतिनिधित्व गर्दै उच्च प्रतिनिधिमण्डलको टोली आइतबार श्रीलङ्का जान लागेको हो । प्रतिनिधिमण्डलले विभिन्न राजनीतिक दलका प्रतिनिधि, अर्थशास्त्री र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिनिधिमण्डलमा एसियाका लागि कोषका उप–सहायक अर्थमन्त्री रोबर्ट काप्रोथ तथा दक्षिण एवम् मध्य एशियाका लागि उप–सहायक विदेशमन्त्री केली केडरलिङलगायत छन् । अमेरिकी टोलीले सम्भावित सहयोग बारे परामर्श गर्नेछ ।भ्रमणले श्रीलङ्काका जनताको सुरक्षा र समृद्धिप्रतिको अमेरिकाको निरन्तर प्रतिबद्धतालाई जोड दिएको श्रीलङ्काका लागि अमेरिकी राजदूत जुली चुङले बताउनुभयो ।

श्रीलङ्कालाई आर्थिक चुनौतीका बेला सघाउन, उसको आर्थिक वृद्धिमा टेवा दिन तथा प्रजातान्त्रिक संस्थाहरूलाई सुदृढ तुल्याउने प्रयासस्वरुप उच्च अधिकारी वासिङटनबाट आउन लागेका उहाँको भनाइ छ ।बितेका दुई सातामा अमेरिकाले श्रीलङ्काली साना र मध्यम व्यवसायलाई सघाउन १२ करोड डलरको नयाँ वित्तीय सहयोगको घोषणा गरको थियो । त्यसैगरी वासिङटनले मानवीय सहायता तथा जीविकोपार्जनका लागि थप ६० लाख डलर प्रदान गर्ने बताएको थियो ।

अर्थतन्त्रलाई स्थिर बनाउन तथा वित्तीय सुधारका लागि प्राविधिक सहयोग उपलब्ध गराउन नयाँ अनुदान दिइएको बताइएको छ । भविष्यमा पनि श्रीलङ्काको आर्थिक पुनरूत्थान, खाद्य सुरक्षा, सार्वजनिक स्वास्थ्य तथा शिक्षा क्षेत्रको प्रवद्र्धनका लागि अमेरिकी सहयोग निरन्तर रहने जनाइएको छ । साथै उसले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट सहयोगका निम्ति गरेको श्रीलङ्काली अनुरोधको समर्थन पनि गरेको छ । वर्तमान सङ्कटबाट श्रीलङ्कालाई मुक्त गर्न सक्दो सहयोग गर्नुपर्नेमा वासिङटनले जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू