अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

सञ्चारमाध्यमको रक्षा गर्ने दायित्व सरकारको : मुख्यमन्त्री पोखरेल

बिआरटीनेपाल २०७९ जेठ २३ गते ७:०० मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रको लागि लडेका सञ्चारमाध्यमको रक्षा गर्ने दायित्व सरकारको भएको बताउनुभएको छ । विज्ञापन बोर्डको आयोजनामा पोखरामा सोमबार आयोजित विज्ञापन बोर्डको कार्यक्षेत्र, विज्ञापन आचारसंहिता एवं विज्ञापन राष्ट्रिय नीति सम्बन्धमा प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।पोखरेलले सञ्चारमाध्यमकै कारण देशमा ठूलो आन्दोलन सफल भएको र नेपालको संविधानमा पनि प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको हुँदा यसको बचाउमा सरकार रहेको बताउनुभयो । सञ्चारमाध्यमको लागि गण्डकी प्रदेशले पनि लोककल्याणकारी विज्ञापन दिन सुरु गरेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले सरकारको मात्र आशा नगरी आफैं पनि व्यावसायिक बन्नुपर्नेमा सञ्चारमाध्यमलाई सुझाव दिनुभयो । ‘खुला समाजमा प्रेसको भूमिका अन्तरनिहित छ’, उहाँले भन्नुभयो ।गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्तले प्रदेशको विज्ञापनलाई व्यवस्थित बनाउन प्रदेशमा समेत नीति बनाउन लागेको जानकारी दिनुभयो । यसअघि यसखालको कार्यक्रम प्रदेश १ र लुम्बिनीमा सम्पन्न भइसकेको छ ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डले प्राप्त सुझावका आधारमा आगामी दिनमा विज्ञापनको राष्ट्रिय नीति पहिलो पटक जारी गर्न लागेको बताउनुभयो । आमसञ्चार नीतिको अंगको रूपमा नभई छुट्टै नीतिको रूपमा आउन लागेको पनि उहाँको भनाइ छ ।कार्यपत्र प्रस्तुत गर्दै उहाँले नीति बनिसकेपछि विद्यमान ऐन तथा नियमावलीमा संशोधन र परिमार्जन हुने, विज्ञापन बजारको विकास र बिस्तारको ढोका खुला हुने, विज्ञापनमा स्वदेशी र विदेशी उत्पादनका बीच भिन्नता छुट्टिने, सम्बोधन हुन बाँकी क्षेत्रको सम्बोधन हुने अपेक्षा गरिएको छ ।

साथै विज्ञान बजारको नियमन गर्ने, सञ्चारमाध्यमको प्रभाव र लोकप्रियता मापन तोक्ने, सरकारी विज्ञापन व्यवस्थापनलाई स्पष्ट दिशा दिने, समानुपातिक विज्ञापन वितरण प्रणालीको व्यवस्था गर्ने, विज्ञापन बजारको विकास र विस्तारमा जोड दिने, विज्ञापनका ३ क्षेत्रहरू (एटिएल, बिटिएल र टिटिएल) लाई सम्बोधन गर्नेछ । विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले विज्ञापनसम्बन्धी कानुनी व्यवस्था र विज्ञापन बोर्डको कार्यक्षेत्रबारे स्पष्ट पार्नुभएकाे थियाे ।

कार्यक्रममा होर्डिङ बोर्ड र त्यसको नियमन तथा अनुगमन, विज्ञापनको राष्ट्रिय नीतिमा समावेश गरिनुपनेृ विषयबस्तु सम्बन्धमा, विज्ञापन आचारसंहिता, विज्ञापन बोर्डको काम, कर्तव्य र अधिकारबारे जानकारी दिइएको थियो ।

प्रतिक्रिया