अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

माग सम्बोधन गर्न प्रतिवद्ध पक्षसँग संघ र प्रदेशमा गठबन्धन गरेर जाने लोसपाको निष्कर्ष

बिआरटीनेपाल २०७९ जेठ २२ गते ९:०३ मा प्रकाशित

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले आफ्नो पार्टीको मागहरु सम्बोधन गर्न प्रतिवद्ध पक्षसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने बताएको छ । आइतबार सम्पन्न पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रतिवद्ध राजनीतिक दलहरुसँग संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जाने निष्कर्ष निकालेको हो ।

निर्वाचनको मिति घोषणा भएपछि आफ्ना पार्टीको माग र विचारसँग सहमत पक्षसँग चुनावी गठबन्धन गरेर अघि बढने सैद्धान्तिक सहमति बैठकमा जुटेको नेता केशव झाले जानकारी दिनुभयो ।त्यसैगरी बैठकले संघ र प्रदेशको चुनावलाई लक्षित गरेर पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउने निर्णय पनि गरेको छ ।

नेता झाले भन्नुभयो, ‘चुनाव घोषणा भएपछि को सँग सहकार्य गरेर जाने भन्ने विषयमा सैद्धान्तिक कुरा के भयो भने जोसँग हाम्रो विचार मिल्छ । जसले हाम्रो माग सम्बोधन गर्न प्रतिवद्धता जनाउँछ । ती पक्षहरुसँग हाम्रो सहकार्य हुन्छ । अरु पार्टीको संगठन चुस्तदुरुस्त बनाएर निर्वाचनको तयारीमा जुटने निर्णय पनि गरिएको छ ।’

शनिबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुरसँग भेटवार्ता गर्नुभएको थियो । सो भेटवार्तामा पनि अध्यक्ष ठाकुरले आफ्नो पार्टीको माग सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई दवाव दिनु भएको नेता झाले बताउनुभयो । बैठकमा पाँच दलीय गठबन्धनसँग एक्लै भिड्नु परेकाले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको निष्कर्ष समेत निकालिएको थियो ।

प्रतिक्रिया