अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

चीनमा कोरोना सङ्क्रमण फैलिँदै : बेइजिङका नागरिकलाई कोभिड परीक्षण गर्न आग्रह

बिआरटीनेपाल २०७९ वैशाख १८ गते ६:०६ मा प्रकाशित

चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएको छ । सङ्क्रमण बढ्न थालेपछि राजधानी बेइजिङका नागरिकलाई सरकारले कोभिड परीक्षण गर्न आग्रह गरेको छ ।बेइजिङका स्थानीयले सार्वजनिक ठाउँमा प्रवेश पाउन सङ्क्रमण नरहेको प्रमाण देखाउनुपर्नेछ । बेइजिङको सबैभन्दा धेरै जनसङ्ख्या भएको चाउयाङ इलाकामा यसअघि नै व्यापक परीक्षण थालिएको छ । बेइजिङको जनसङ्ख्या दुई करोड १० लाख छ ।

सङ्क्रमण बढ्न थालेपछि पुनः लकडाउन हुन सक्ने आशङ्कामा मानिसहरू अत्यावश्यक सामग्रीको किनमेलमा जुटेका छन् । चीनका ४६ सहरमा अहिले पनि आंशिक वा पूर्ण लकडाउन छ । दुई करोड ५० लाख जनसङ्ख्या भएको शङ्घाई सहरमा कडा लकडाउन छ । त्यहाँ मार्चयता पाँच लाख जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । मानिसहरू घरभित्रै सीमित भएका छन् र धेरैजसोले खानेकुरा र पानीको जोहो गर्न सङ्घर्ष गर्नुपरेको बीबीसीले जनाएको छ ।

सरकारले पठाउने सागसब्जी, मासु र अण्डाको लागि लामो समयसम्म पर्खनुपरेको नागरिकको गुनासो छ । यस्तै अवस्था आउन सक्ने डरले बेइजिङका बासिन्दा खानेकुरा र अरु सरसामानको जोहो गर्न व्यस्त भएका छन् । तर सरकारले बेइजिङमा कोभिड सङ्क्रमण नियन्त्रणमै रहेको र लकडाउनको तयारी नभएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू