अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५५ | Colorodo: 21:10

श्रीलंकाका प्रधानमन्त्री महिन्दा पदमुक्त

बिआरटीनेपाल २०७९ वैशाख १६ गते २१:२९ मा प्रकाशित

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षे पदमुक्त हुनुभएको छ ।

श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत हुनुभएको हो ।। खराब आर्थिक संकटको कारण उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न आफ्ना दाजुलाई प्रधानमन्त्री पदबाट हटाई अन्तरिम सरकार गठन गर्न राष्ट्रपति राजपाक्षे सहमत भएकाे सांसद मैथ्रीपाला सिरिसेनाले बताउनुभयो ।

पूर्वराष्ट्रपति सिरिसेनाले संसदमा रहेका सबै दललाई समेटेर नयाँ प्रधानमन्त्रीको नाम र मन्त्रिपरिषद् गठन गर्न राष्ट्रिय परिषद नियुक्त गर्न राष्ट्रपति सहमत भएको जानकारी दिनुभयो। सर्वदलीय सरकार गठनको विषयमा छलफल गर्न आह्वान गरेकाे बैठकमा असन्तुष्ट पक्षले प्रधानमन्त्रीको उपस्थितिमा सहभागी हुन अस्वीकार समेत गरेका थिए ।

यसअघि, प्रधानमन्त्री बाहेक सबै मन्त्रीले राजीनामा दिएका थिए भने राष्ट्रपतिले पुनः नयाँ मन्त्रीमण्डल गठन गर्नुभएको थियो । श्रींलकामा आर्थिक संकट गहिरिँदै गएपछि राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनहरू चर्किंदै गएको थियो । स्वतन्त्रता भएयताकै सबैभन्दा चरम आर्थिक संकटको सामना गरिरहेको छ ।

हाल श्रीलंकाले वाह्य ऋण भुक्तानी निलम्बन गरेको र यस वर्ष ७ अर्ब डलर र सन् २०२६ सम्ममा २५ अर्ब डलर विदेशी ऋण तिर्नुपर्नेछ । श्रीलंकाको विदेशी सञ्चिति एक अर्ब डलर भन्दा कम छ । विदेशी मुद्रा अभावले आयात नराम्रोसँग प्रभावित भएको छ ।

जसका कारणले गर्दा साे ठाउँका मानिसहरू खाद्यान्न, इन्धन, खाना पकाउने ग्याँस र औषधि जस्ता अत्यावश्यक वस्तुहरू किन्न लामो लाइनमा बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू