अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

राष्ट्र सङ्घका महासचिव गुट्रेस र रुसी राष्ट्रपति पुटिनबीच मङ्गलवार भेटवार्ता हुने

बिआरटीनेपाल २०७९ वैशाख ९ गते २१:२५ मा प्रकाशित

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुट्रेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ । आउँदो मङ्गलवार हुने भेटवार्ताका लागि महासचिव गुटरेस रुसको राजधानी मस्को जाने बीबीसीले जनाएको छ ।युक्रेनमा भइरहेको द्वन्द्व अन्त्य गरेर शान्ति कायम गर्ने मुख्य लक्ष्य लिएर गुट्रेस मस्को जान लाग्नुभएको खबरमा उल्लेख छ ।

यसैबीच, युक्रेनका उप–प्रधानमन्त्री लिर्याना भरेस्चुकले रुसले कब्जा गरेको मारिउपोलबाट नागरिकको उद्धारको लागि संयुक्त राष्ट्रसँग अपिल गर्नुभएको छ ।मारिउपोलमा एक लाखभन्दा धेरै नागरिक खाना, पानी, विद्युत् र सञ्चार सम्पर्कबाट विच्छेद भएर कठिन अवस्थामा रहेको भन्दै उपप्रधानमन्त्री भरेस्चुकले संयुक्त राष्ट्र सङ्घको सहयोग माग्नुभएको खबरमा उल्लेख छ ।

नागरिकको उद्धार गर्ने काम अब संयुक्त राष्ट्र सङ्घबाट मात्रै सम्भव भएको उहाँले बताउनुभएको छ ।यस्तै, युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले युक्रेनमा गरेको आक्रमण एउटा सुरुवात मात्रै भएको चेतावनी दिनुभएको छ ।गएराति भिडिओ सन्देश जारी गर्दै जेलेन्स्कीले रुसले अहिले युक्रेनमा आक्रमण गरेजस्तै भविष्यमा युरोपका अन्य देश पनि कब्जा गर्ने उद्देश्यसहित आक्रमण गर्न सक्ने भन्दै चेतावनी जारी गर्नुभएको छ ।

युरोपेली देश र अमेरिकाले युक्रेनलाई थप सैन्य सामग्री सहयोग गर्नुपर्ने र रुसमाथिका प्रतिबन्ध अझै कडा बनाउँदै लगेमा मात्रै रुसीको शक्तिको उन्मादलाई कम गर्न सकिने जेलेन्स्कीको भनाइ छ । यस्तै, अमेरिकाले पनि युक्रेनलाई थप सहयोग गरेर रुसलाई परास्त गर्न भन्दै अर्को हप्ता २० वटा देशसँग बृहत् छलफल गर्ने भएको छ ।

जर्मनीमा हुने छलफलमा नेटोमा आबद्ध देशसहित २० देशको सहभागिता रहने अपेक्षा गरिएको अमेरिकाले जनाएको छ । अमेरिका, बेलायत, पोल्यान्ड लगायतका देशले रुससँग लड्नको लागि युक्रेनलाई अत्याधुनिक हतियार पठाइरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू