अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७ | Colorodo: 17:22

गाडीको ठक्करले कोलोराडोमा देवराज सापकोटाको मृत्यु

बिआरटीनेपाल २०७९ वैशाख ९ गते १८:०३ मा प्रकाशित

कोलोराडो । गाडीको ठक्करले कोलोराडोमा एक नेपालीको मृत्यु भएको छ । उनको नाम देवराज सापकोटा भएको बोल्डर काउन्टी कोरोनरको कार्यालयले जनाएको छ ।

नीलकण्ठ गाउँ विकास समिति वडा न. २, धादिङ घर भएका ३८ बर्षका सापकोटाको बाटो काट्ने क्रममा होण्डा २००७ कारले हानेर निधन भएको कोलोराडो स्टेट पेट्रोल ट्रुपर गेरि कट्लरले जनाएका छन् । उनलाई युएस हाइवे ३६ काट्ने क्रममा एक जना महिलाले चलाएको होण्डा कारले हानेको हो । घटना गत मङ्गलवार साँझ ९ः११ मा भएको थियो । कटलरले घटना भएको स्थानमा बाटो काट्ने ठाउँ (जेब्रा क्रसिङ) नभएको बताएका छन् ।

कार चलाउने महिला २५ वर्षको भएको, उनले दुर्घटना हुन नदिन लेन परिवर्तन गर्ने खोज्दा असफल भएको र घटनास्थल छाडेर नभागेको पनि कोलोराडो स्टेट पेट्रोल ट्रुपर कट्लरले बताएका छन् । दुर्घटनामा महिलालाई भने चोट लागेको छैन । कट्लरले मृतक सापकोटा फ्रेड्रिकमा बस्ने जनाए पनि कोरोनर अफिसले उनी बोल्डरका बासिन्दा हुन भनेको छ । सापकोटा बोल्डरको काठ्मान्डौ रेस्टुरेन्टमा ६ वर्ष देखी कार्यरत थिए ।

तीव्र गतिमा सवारी नचलाएको र कुनै पनि प्रकारको मादक पदार्थ सेवन नगरेकाले सवारी चालक ती महिलामाथि कुनै पनि प्रकारको अभियोग नलगाइने कट्लरले प्रस्ट पारेका छन् । तर, ती महिलाले ठक्कर दिनुभन्दा अघि सापकोटालाई अर्को गाडिले पनि ठक्कर दिएर भागेको हुनसक्ने अधिकारीहरूको आशङ्का छ । अधिकारीहरूले घटनाका प्रत्यक्षदर्शी खोजिरहेका छन् ।

प्रहरीले अन्जानमा कसैलाई ठक्कर दिएको हुन सक्ने सम्भावना भएका सबैलाई ३०३–२३९–४५८३ मा सम्पर्क गर्न र केस नम्बर १ डी २२१२४१ उल्लेख गर्न सूचना जारी गरेको छ । दुर्घटना लगत्तै युएस ३६ (US-36) अनुसन्धानका लागि बन्द गरिएको थियो ।

प्रतिक्रिया