अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४५ | Colorodo: 08:00

राष्ट्रिय लोक दोहोरी महोत्सव सम्पन्न

रघु सापकोटा २०७९ वैशाख ३ गते १५:०४ मा प्रकाशित

काठमाडौँ । नेपालका सबै जाती तथा भूगोलका समेत लोक संस्कृतिको जगेर्नाका साथै लोक साङ्गीतिक र सांस्कृतिक पहिचानमा लाग्नेहरूलाई प्रोत्साहन समेत गर्ने उद्देश्यका साथ गत शनिवारदेखि जारी राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ बिहीबार समापन भएको छ । पूर्वदेखि सुदूर पश्चिमसम्मका कला र संस्कृतिको समृश्रणका साथ आयोजना गरिएको महोत्सव बिहीबार तामझामका साथ सकिएको हो ।

खुल्ला दोहोरी मध्ये अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि राखिएको यस प्रतियोगितासहितको महोत्सव सुरु हुनुअघि शनिवार दिन माइतीघर मण्डलादेखि विभिन्न जातजातिहरूका झाँकीसहित टुँडिखेलमा प्रवेश गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । निजी क्षेत्रका कम्पनी डिएआर मुभिज एण्ड फिल्मस् इण्डष्ट्रिजले आयोजना गरेको यस महोत्सवको उद्घाटन गर्ने क्रममा उपराष्ट्रपति पुनले लोकगीतमा नेपालीहरू हरेक जाती, वर्ग, पेसा व्यवसाय र माटोको कथा जोडिएको बताएका थिए । उनले हाम्रो मौलिक कला तथा संस्कृति अन्तर्राष्ट्रियकरण भइरहेको समेत बताएका थिए ।

उद्घाटनको दिनदेखि समापनसम्म आउँदा ५ चलेको प्रतियोगितात्मक महोत्सवमा कुल ६८ समूहले भाग लिएका थिए । त्यतिका समूहहरू प्रतिस्पर्धा गर्ने क्रममा प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझले हात पार्न सफल भयो । त्यसै गरी दोस्रोमा टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझ रहयो भने सारोज सिम्खडा र सिता घिमिरे सम्मिलित रेसुङ्गा दोहोरी साँझ तथा सुरेन्द्र फ्याली मगर र सङ्गीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझ तेस्रो स्थानमा रहे । दुई समूहको आग्रह बमोजिम सान्त्वनाको प्रतिस्पर्धा नगराई आपसी सहमतिमा दुई समूहलाई तेस्रोमा राखिएको निर्णायक समितिका संयोजक वरिष्ठ गायक पुरुषोत्तम न्यौपानेले बताए ।

पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः ५ लाख, ४ लाख र ३ लाख पुरस्कार वितरण गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट गायक, उत्कृष्ट गायिका तथा अनुशासित गायक र गायिकालाई समेत पुरस्कारको व्यवस्था गरिएको थियो ।

उद्घाटनका दिनदेखि हरेक दिनको प्रतियोगितामा एक जना विशिष्ट व्यक्तिको उपस्थिति गराईकन बाँकी चार दिन नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल, बहालवाला डिआइजी वसन्त लामा, बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का तथा समापन भने बागमती प्रदेशकै खेलकुद मन्त्री रत्न ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

महोत्सवको समापनका दिन लोक सम्राट् कुमार बस्नेत, वरिष्ठ लोक गायक बमबहादुर कार्की, वरिष्ठ लोक गायक, सङ्गीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझी, वरिष्ठ गायिका बिमाकुमारी दुरा, शिला आले, वरिष्ठ गायक शिवनारायण जोशी, मच्छेश्वर सापकोटा, ऋषि अधिकारी, नवीन ढुङ्गेल, टङ्क केसी, गीतादेवी लगायत वरिष्ठ कलाकारहरूलाई सम्मानित गरिएको थियो भने गायक गायिकाहरू बद्री पङ्गेनी, कृष्ण रेउले, महेन्द्र तिमल्सिना, शिरीष देवकोटा, सुमन अधिकारी, अमृत खाती, सरोज लामिछाने, भीमसेन खतिवडा, रामकुमार नेपाली, प्रकाश कटुवाल, प्रतिमा अर्याल,वैकुण्ठ महत लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।

यसअघि २०७६ सालका अन्तिममा काठे दोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिज एण्ड फिल्मस्ले अघिल्लो वर्ष कोरोना महामारीका कारणले कार्यक्रम गर्न नसकिएको जानकारीका साथमा आगामी वर्षदेखि यो कार्यक्रमले निरन्तरता पाउने बताएको छ ।

प्रतिक्रिया