अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

अस्ट्रेलियालाई कर्म थलो बनाएकी निखिला बुढाथोकी नेपाली चलचित्र पर्पलामा

रघु सापकोटा २०७७ फागुन ४ गते ९:०४ मा प्रकाशित

काठमाडौँ । नेपाली कला क्षेत्रको मोह नेपालमा बस्नेलाई मात्र होइन परदेशमा बस्नेलाई पनि हुने गर्दछ । परदेशमा बस्ने कत्तिले अवसर पाउँछन् भने कतिले इच्छा भए पनि विविध कारणले आफ्नो कला प्रस्तुत गर्न पाएका हुदैनन । झापा जिल्लामा जन्मिएर अस्ट्रेलियालाई कर्म थलो बनाएकी निखिला बुढाथोकी एक भाग्यमानीमा पर्दछिन् उनले अस्ट्रेलियामा बसेर कलाकारितामा फड्को मार्दै छिन ।

अभिनय,नृत्य कुशलता भएकी अभिनेत्री बुढाथोकी नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेकी अभिनेत्री हुन् । अस्ट्रेलियामा हुने सांस्कृतिक कार्यक्रम, त्यहाँ बन्ने म्युजिक भिडियोको पहिलो रोजाइमा उनी पर्ने गर्दछिन् । विगत पाँच वर्ष देखि अस्ट्रेलियामा बसोबास गर्दै आएकी निखिला बुढाथोकी पेसाले नर्स हुन् । उनी अस्ट्रेलियामा राम्रो बेली डान्सरको रूपमा परिचित छिन् । उनले थुप्रै इभेन्टमा आफ्नो प्रतिभा देखाउनुका साथै आधा दर्जन म्युजिक भिडियोमा समेत काम गरी सकेकी छिन। हलिउड अभिनेत्री सल्मा हायक, बलिउड अभिनेत्री जिनत अमात र राधिका आप्टेको अभिनयबाट प्रभावित बुढाथोकी नेपालमा भने तृप्ति नाडकर, नम्रता श्रेष्ठ र ऋचा शर्माको अभिनयबाट प्रभावित छिन । भविष्यमा आफू सफल अभिनेत्रीको रूपमा परिचित भएर स्वदेश तथा विदेशमा आफ्नो क्षमता देखाउने उनको चाहना रहेको छ ।

उनलाई थुप्रै चलचित्रमा अफर समेत आइ रहेको उनी बताउँछिन् । उनले आधा दर्जन जति चलचित्रको स्क्रिप्ट मन नपरेर काम नगरेको पनि उनले बताइन । उनलाई अस्ट्रेलियामा नै निर्माण भएको चलचित्र ‘पर्पला’को कथाले मन छोयो र उनले काम गर्न राजी भइन्,’पर्पला’ अस्ट्रेलियामा घट्ने एउटा वास्तविक घटना भएकोले पनि उनलाई काम गर्न मन लागेको हो । यो चलचित्र पश्चात् हाल उनी अन्य दुई चलचित्रको स्क्रिप्ट पढ्दै छिन्। मनोज अधिकारीको लेखन तथा निर्देशनमा बनेको चलचित्रको छायाङ्कन सकिएको छ ।

भानु प्रताप प्रस्तुतकर्ता रहेको चलचित्र ‘पर्पला’को अस्ट्रेलियामा नै छायाङ्कन सकिएको छ । चलचित्रमा रवीन्द्र कुमार शर्मा, डम्बर बहादुर रसाइली, छवि अधिकारी निर्माता रहेका छन् भने सह निर्मातामा सृजना लुहागुन, सरस्वती गौतम र भीम बहादुर रसाइली रहेका छन् । चलचित्र आरकेस अस्ट्रेलिया,ओएमजी इन्टरटेन्टमेन्ट,ग्रिन हिल्स इन्टरटेन्टमेन्टको संयुक्त ब्यानरमा निर्माण गरिएको छ। कश्मीर डिक्सनको डिओपी रहेको चलचित्रका सम्पादक सुरेन्द्र पौडेल हुन् । चलचित्रमा निखिला बुढाथोकीको साथमा पुकार गौतम, रोजी पन्त, ओल्गा तमरा, योगेश घिमिरे, क्रिष्टिन शेल र प्रेक्षा अधिकारी लगाएतको अभिनय रहेको छ । छिट्टै चलचित्रको प्रचार सामाग्रीहरू सार्वजनिक गरिने प्रस्तुतकर्ता भानु प्रतापले जानकारी दिए ।