अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२ | Colorodo: 14:07

एएफसी कप छनोट: मछिन्द्रको पहिलो चरणबाटै बाहिरियो

बिआरटीनेपाल २०७८ चैत २२ गते ८:११ मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप २०२२ छनोटको पहिलो चरणबाटै बाहिरिएको छ । मछिन्द्र मंगलबार श्रीलंकन सुपर लिग च्याम्पियन टोली ब्लु स्टार क्लबविरुद्ध घरेलु मैदानमा २–१ अन्तरले पराजित भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलको पहिलो हाफको २४औं मिनेटमा मोहम्मद इसानले ब्लु स्टारलाई अग्रता दिलाए । मोहम्मद फजलले क्विक फ्रिकिक प्ले गर्दै इसानलाई बल दिएका थिए । जसमा इसालने कुनै गल्ती गरेनन् ।२८औं मिनेटमा सेनल सन्देशले घरेलु टोलीविरुद्धको अग्रता दोब्बर पारे । मध्यभागबाट आएको बलमा सन्देशले रन्जित धिमाललाई बिट गर्दै १८ यार्ड बक्सको बायाँतर्फबाट सहजै जाली दिशा दिए ।

इन्जुरी समयमा मनिष डांगीको क्रसमा कप्तान सुजल श्रेष्ठले सान्त्वना गोल फर्काएका थिए ।त्यसअघि नवौं मिनेटमा नुर्लान नोभ्रुजोभले गोलको सुनौलो मौका खेर फाले । मैदानको मध्यभागबाट विमल घर्तिमगरले निकालेको पासमा नुर्लानले वान अन वानमा गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।

१५औं मिनेटमा ब्लु स्टारले पाएको पेनाल्टी रोक्दै गोलकिपर विशाल श्रेष्ठले मछिन्द्रको ठूलो संकट टारे । डिफेन्डर ओमोलाजा करिमले सेनल सन्देशमाथि पेनाल्टी क्षेत्रभित्र फल गरेपछि ब्लु स्टारले पेनाल्टी पाएको थियो ।ब्लु स्टारका जेरी ओमबेबेले दाहिनेतर्फ गरेको प्रहार विशालले पन्च गरिदिए । दोस्रो हाफमा निरन्तर आक्रमण बुनेका मछिन्द्रले बललाई जाली चुमाउन भने सकेन ।

४९औं मिनेटमा सुनिल बलले पेनाल्टी बक्स बाहिरको दायाँतर्फबाट गरेको प्रहार पोस्टमा लागेर बाहिरियो । ६०औं मिनेटमा सुनिलले प्रहार गरेको कर्नरमा करिमको हेडर बारमा लागेर फर्कियो ।६४औं मिनेटमा विमलले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार ब्लु स्टारका गोलकिपर काभेसले बचाए ।

६८औं मिनेटमा अभिषेक रिजालको क्रसमा विमलको हेडरमा फेरी बार बाधक बन्यो । बारबाट रिबाउन्ड भएको बलमा छिरिङ गुरुङले गरेको प्रहार ब्लु स्टारका कप्तान इरांगाले क्लियर गरिदिए । इन्जुरी समयमा रेजिन सुब्बाले १८ यार्ड बक्सबाहिरबाट गरेको प्रहार बारमाथिबाट बाहिरियो । खेलमा दुई हजार तीन सय ६९ आधिकारिक दर्शक उपस्थित रहेको आयोजक मछिन्द्रले जनाएको छ ।

मछिन्द्रलाई हराएसँगै ब्लु स्टारले छनोटको दोस्रो चरणमा भारतीय टोली एटिके मोहन बगानसँगको भेट पक्का गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू