अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

कोलोराडोमा फेरी डढेलो, १९० एकड क्षेत्रफल डढायो

बिआरटीनेपाल २०७८ चैत १३ गते २२:२८ मा प्रकाशित

कोलोराडो । शनिवार दिउँसो करिब २ बजे सुरु भएको डढेलोले कोलोराडोको १ सय ९० एकड क्षेत्रफल जङ्गलमा क्षति पुर्‍याएको छ । मानवीय क्षति नपुगे पनि बोल्डर क्षेत्रका १९ हजार बासिन्दालाई त्यहाँबाट सारिएको थियो । हुरीका कारण तीव्र गतिमा फैलिएको यो डढेलोलाई एनसिएआर फायर नाम दिइएको छ । नेशनल सेन्टर फर एटमोस्फियरिक रिसर्च (एनसिएआर) नजिकैबाट सुरु भएकाले यसलाई एनसिएआर फायर नाम दिइएको हो ।
डढेलो नियन्त्रण गर्न २ सयभन्दा बढी फायर फाइटर खटिएका छन् । अनुसन्धानकर्ताहरुले डढेलो बियर क्रिक क्यानन्बाट सुरु भएको जनाएका छन् । डढेलोको कारण भने खुल्न सकेको छैन ।

अधिकारीहरूले शनिवार टेबल मेसा र एल्डोराडो खालि गराएको बोल्डर फायर रेस्क्युकी प्रवक्ता मार्या वाशबर्नले बताइन् । आगलागी नियन्त्रणमा आउन थालेसँगै अधिकारीहरूले शनिवार राति ११ बजेपछि स्थानीय बासिन्दालाई घर फर्किन दिएका थिए ।

एनसिएआर फायर अघि गत डिसेम्बर कोलोराडोमा मार्सल फायर नामक डढेलो लागेको थियो । उक्त डढेलोले करिब १ हजार घरमा क्षति पुर्‍याएको थियो । हुरीका कारण मार्सल फायरका बेला हजाइजहाज प्रयोग गर्न सकिएको थिएन । यसपालि भने आगलागी नियन्त्रणका लागि हवाई जहाज प्रयाग गरिएको छ ।

अमेरिकाको पश्चिमी क्षेत्रका जङ्गलमा आगलागीको आकार र वेग बढ्दो छ । पछिल्ला अध्ययनहरूले ग्लोबल वार्मिङका कारण तापक्रम र सुख्खापन बढ्नु तथा ठुला र सघन आगलागी हुन आपसमा सम्बन्धित भएको देखाएको छ ।

Photo Credit: Fox31 News (Trevor French)

प्रतिक्रिया