अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

संकटा क्लब झापा गोल्डकपको सेमिफाइनल प्रवेश

बिआरटीनेपाल २०७८ फागुन २४ गते ६:०३ मा प्रकाशित

काठमाडौंको संकटा क्लब पाँचौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५औं मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो । पहिलो हाफ १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल गर्‍यो । खेलको ६३औं मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे । खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न नसक्दा सान्त्वना गोलसमेत फर्काउन सकेन ।

मंगलबारको खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए ।खेलपछि थ्री स्टारका प्रशिक्षक रविन्द्र सिल्पकारले लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको बताए ।त्यस्तै, विजयी टोली संकटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको प्रतिक्रिया दिए । उनले संकटाले पहिलो हाफमा गरेको गोल नै ‘टर्निङ प्वाइन्ट’ भएको बताए ।

बुधबारको क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीबीच हुनेछ । आयोजकले मंगलबार अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो । कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथिहरू महिला मात्र थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू